काठमाडौं । नेकपा (एमाले) को पार्टी कार्यालय हटाउनुपर्ने भएको छ । बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई निर्देशन दिएको थियो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बुधबार जारी गरेको सूचना अनुसार २०७९ मा लिज सम्झौता गर्न आउनू भनेर सूचना निकाल्दा पनि नगएका र कानुन बमोजिम लिज प्रक्रियामा प्रवेश नगरेका संस्थाले जग्गा तथा संरचना खाली गर्नुपर्ने भएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकार प्राप्त जग्गा र त्यसमा निर्मित संरचना खाली गर्न भन्दै सूचना प्रकाशन गरेपछि ललितपुरको च्यासलस्थित उक्त कार्यालय पनि हटाउनुपर्ने भएको छ ।
यसका लागि मिति २०७३ जेठ ३१ गते र ०७४ वैशाख २१ मा तत्कालीन भूमि सुधार तथा व्यवस्थापन विभागले सूचना प्रकाशित गरेको थियो। तर तोकिएको म्यादभित्र लिजमा परिणत गर्न निवेदन नदिएका व्यक्ति, संस्था तथा निकायहरूको हकमा भोगाधिकार कानुनतः स्वतः समाप्त भइसकेको मन्त्रालयले जनाएको छ।
एमालेले तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानका नाममा ०५८ चैतमा मन्त्रिपरिषद्बाट स्वीकृत गराएर १२ रोपनी ६ आना पाँच पैसा तीन दाम जग्गा भोगचलन गर्दै आएको छ । तर, उक्त जग्गा ‘लिज’मा परिणत गरिएको छैन ।










