काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले मंगलबार एक विज्ञप्ति जारी गरी राईलाई सचिवको पदबाट हटाइएको बताए ।
राष्ट्रपतिले यही वैशाख २८ मा सभामुखले गरेको सिफारिसअनुसार सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई पदबाट हटाएको विज्ञप्तिमा उल्लेख छ ।
‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूले सभामुख डोलप्रसाद अर्यालको २०८३/०१/२८ गतेको सिफारिसमा सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम हर्कराज राईलाई २०८३/०१/२९ गतेदेखि प्रतिनिधिसभाको सचिवको पदबाट हटाउनुभएको छ,’ प्रवक्ता शाक्यले जारी विज्ञप्तिमा उल्लेख छ ।
राई २०८१ पुस १६ मा प्रतिनिधिसभाको सचिवमा नियुक्त भएका थिए। प्रतिनिधिसभाको सचिव पद संवैधानिक हो । सभामुखको सिफारिसमा प्रतिनिधिसभाको सचिव राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । सचिव राईलाई तत्कालीन सभामुख देवराज घिमिरेले सचिव पदमा नियुक्तिका लागि राष्ट्रपतिकहाँ सिफारिस गरेका थिए ।












