कारितास नेपाल द्वारा सञ्चालित “सुरक्षित आप्रवासन मार्फत मानव बेचबिखन विरुद्धको सबलीकरण” परियोजना अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा एक दिवसीय करियर काउन्सिलिङ कार्यक्रम सम्पन्न भएको छ।
मिसियो म्युनिखको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिका सँगको समन्वयमा सञ्चालित उक्त परियोजनाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने तथा फर्किएका आप्रवासीलाई स्थानीय स्तरमै पुनःस्थापना गराउन सहयोग गर्ने उद्देश्य राखेको छ। विगत तीन वर्षदेखि परियोजना वडा नं. १, ४, ७, ८ र ११ मा सञ्चालन हुँदै आएको छ।
आज झिलझिले माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा सेभेनसीज अंग्रेजी माध्यमिक विद्यालय र झिलझिले माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत १२५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

परियोजना परिचालक चिरञ्जीवी लुइँटेल का अनुसार कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई आफ्नो रुचि, क्षमता र प्रतिभा पहिचान गर्न सहयोग गर्नु, उपयुक्त शैक्षिक तथा व्यावसायिक क्षेत्र छनोटका लागि मार्गदर्शन प्रदान गर्नु, आत्मविश्वास र निर्णय क्षमता विकास गराउनु तथा रोजगारका अवसर र आवश्यक सीपबारे जानकारी गराउनु रहेको थियो। साथै, लक्ष्य निर्धारण, सकारात्मक सोच विकास तथा वैदेशिक रोजगारीको नाममा हुने असुरक्षित आप्रवासन र मानव बेचबिखन विरुद्ध सचेतना फैलाउने उद्देश्य पनि कार्यक्रमले राखेको थियो।
कार्यक्रम झिलझिले माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर बुढाथोकी को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
त्यसैगरी नरपति निरौला, दिपु राई लगायतको आतिथ्यता रहेको कार्यक्रममा सहजीकरण विवेक शिवाकोटीले गर्नुभएको थियो भने औपचारिक सञ्चालन कारितास नेपालका स्वयंसेवक हरि गुरागाईंले गर्नुभएको थियो।












