शिवसताक्षी । मिसियो म्युनिखको आर्थिक सहयोग तथा कारितास नेपाल को आयोजना एवं शिवसताक्षी नगरपालिका सँगको समन्वयमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखनविरुद्धको सशक्तीकरण परियोजना अन्तर्गत शिवसताक्षी नगरपालिका वडा नं. ४ विश्वडुब्बास्थित श्री कन्काई प्राथमिक विद्यालय भवनमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा नवगठित आप्रवासी सञ्जाल समूह ‘कन्काई विश्वडुब्बा आई.पी.एम कृषक पाठशाला’का सदस्य, विद्यालयका विद्यार्थीका अभिभावक, स्थानीय समुदायका फिर्ती आप्रवासी, सम्भावित आप्रवासी तथा आप्रवासी परिवारका सदस्यहरूको सहभागिता रहेको थियो।

अभिमुखीकरण कार्यक्रममा स्वदेशमै स्वरोजगारमुखी कार्यमा लाग्न प्रेरित गर्नुका साथै वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था आएमा सीप सिकेर दक्ष जनशक्ति बनी नेपाल सरकारले तोकेका मापदण्ड पालना गर्दै सुरक्षित रूपमा वैदेशिक रोजगारीमा जानुपर्ने विषयमा जानकारी दिइएको थियो। साथै वैदेशिक रोजगारीका क्रममा हुनसक्ने ठगी तथा जोखिमबाट कसरी सुरक्षित रहने भन्नेबारे समेत सचेतना प्रदान गरिएको थियो।

कार्यक्रममा वैदेशिक रोजगारीमा जानुअघि अपनाउनुपर्ने सावधानी, विदेशमा रहँदा ध्यान दिनुपर्ने सुरक्षा उपाय, स्थानीय तहअन्तर्गत रोजगार सेवा केन्द्रले प्रदान गर्ने सेवा, श्रम स्वीकृति, सामाजिक सुरक्षा कोष, श्रमिक कल्याणकारी कोष तथा वैदेशिक रोजगारीका समस्याहरू समाधानका लागि नेपाल सरकारका नियामक निकायहरूको भूमिकाबारे जानकारी गराइएको थियो।

परियोजनाका सामाजिक परिचालक चिरञ्जीवी लुइटेल ले सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै स्वदेशमै स्वरोजगारका अवसर सिर्जना गर्न कार्यक्रम केन्द्रित रहेको जानकारी दिनुभयो।

कार्यक्रममा ६५ जनाको सहभागिता रहेको थियो। नवगठित आप्रवासी सञ्जाल समूहका अध्यक्ष सुन्दरलाल राजवंशी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सोमनाथ गुरागाईं प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रमको सहजीकरण बिदुर तिम्सिना ले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0