शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका मा सञ्चालित १५ दिने भलिबल प्रशिक्षण मंगलबार सम्पन्न भएको छ। भलिबल खेलको विकास तथा दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको प्रशिक्षण दुधे रंगशालामा समापन गरिएको हो।

प्रशिक्षण समापन कार्यक्रममा बोल्दै नगरप्रमुख मेगाहाङ्ग थोप्रा ले फुटबलसरह भलिबल खेलको पनि विकास गर्ने लक्ष्यका साथ प्रशिक्षण सञ्चालन गरिएको बताउनुभयो। उहाँले शिवसताक्षी नगरपालिका खेलकुद क्षेत्रमा अन्य स्थानीय तहभन्दा अग्रस्थानमा रहेको उल्लेख गर्दै खेल पूर्वाधार निर्माणसँगै खेलाडी उत्पादनमा नगरपालिकाले निरन्तर काम गरिरहेको जानकारी दिनुभयो।

“हामीले बृहत् रंगशाला निर्माण गरी खेलाडीलाई खेलप्रति अभिप्रेरित गर्दै आएका छौं,” नगरप्रमुख थोप्राले भन्नुभयो, “अब फुटबलसँगै भलिबल, क्रिकेट, कराँतेलगायत सबै विधाका खेलमा शिवसताक्षीलाई अब्बल बनाउने लक्ष्य राखेका छौं।” उहाँले प्रशिक्षणमा सहभागी खेलाडीहरुलाई बधाई दिँदै खेललाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो।

कार्यक्रममा शिवसताक्षी भलिबल क्लबका अध्यक्ष भिम लिवाङले २०७४ सालमा क्लब स्थापना भएपछि निरन्तर भलिबल खेलको विकासका लागि काम भइरहेको बताउनुभयो। उहाँका अनुसार विगतमा गाउँघर तथा विद्यालयस्तरमा लोकप्रिय रहेको भलिबल खेल पछिल्लो समय ओझेलमा पर्दै गएको थियो।

“हामी स्कुल पढ्दा गाउँगाउँमा भलिबल खेलिन्थ्यो, पछि विस्तारै हराउँदै गयो,” अध्यक्ष लिवाङले भन्नुभयो, “त्यसपछि क्लब गठन गरेर पुनः भलिबल खेलको विकासमा लागेका हौं। अहिले शिवसताक्षीका सबै वडामा भलिबल खेलाडी रहेका छन्।”

समापन कार्यक्रममा प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुलाई प्रति वडा एक–एक थान भलिबल समेत वितरण गरिएको थियो। नगरका सबै वडाबाट छनोट गरिएका ३० जना खेलाडीलाई प्रशिक्षण दिइएको नगरपालिकाले जनाएको छ।

प्रशिक्षणको सहजीकरण राष्ट्रिय खेलाडी तथा एनएसएनआइएस प्रमाणित प्रशिक्षक नविन रिजालले गर्नुभएको थियो। शिवसताक्षी भलिबल क्लबका संयोजक गौरव थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सानाहाङ लिवाङले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0