शिवसताक्षी । झापाको शिवसताक्षी स्थित दूधे रंगशालामा जारी चौथो कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८३ अन्तर्गत शुक्रबार तीन रोमाञ्चक खेल सम्पन्न भएका छन्। प्रतिस्पर्धात्मक खेलपछि कनकाइ भेट्रान, झिलझिले भेट्रान र श्रीजङ्गा भेट्रान भद्रपुरले दोस्रो चरणमा स्थान सुरक्षित गरेका छन्।

पहिलो खेलमा कनकाइ भेट्रानले दुधे भेट्रानलाई ट्राइब्रेकरमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्‍यो। निकै प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने दुधेले बनाएको थियो। दुधेका बहादुर आङ्बोले गोल गर्दै टोलीलाई अघि बढाएका थिए। त्यसपछि कनकाइका सुरेन्द्र आन्दङ्बेले बराबरी गोल फर्काउँदै खेललाई रोमाञ्चक बनाए। निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो।

ट्राइब्रेकरमा दुधेका श्यामबहादुर लिम्बु, यामप्रकाश चेम्बाङ र दिपेन थेगिमले गोल गरे। शन्त आङ्बोको प्रहार पोलमा लागेर बाहिरिँदा बहादुर आङ्बोको प्रहार कनकाइका गोलकिपर गणेशमान तामाङले शानदार बचाउ गरेका थिए। कनकाइका पालुम किप्गेन, बहादुर श्रेष्ठ, सूर्य गर्तौला र दिलकुमार कार्कीले गोल गरे भने नन्दी हेम्रुमको प्रहार दुधेका गोलकिपरले रोकेका थिए। उत्कृष्ट प्रदर्शन गरेका गणेशमान तामाङ खेलको म्यान अफ दि म्याच घोषित भए।

दोस्रो खेलमा झिलझिले भेट्रानले बौद्ध भेट्रान पाँचथरमाथि प्रभावशाली जित निकाल्यो। खेल सुरु भएको तेस्रो मिनेटमै प्रवेश कटुवालले गोल गर्दै झिलझिलेलाई अग्रता दिलाएका थिए। त्यसपछि विशाल राई चम्किए। उनले ३०, ४३ र ४५ औं मिनेटमा गोल गर्दै शानदार ह्याट्रिक पूरा गरे। खेलको ५१ औं मिनेटमा जसु राईले अर्को गोल थप्दै झिलझिलेलाई फराकिलो जित दिलाए।

बौद्ध भेट्रानका लागि दिनेश राईले २५ र ३५ औं मिनेटमा दुई गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। उत्कृष्ट प्रदर्शन गरेका प्रवेश कटुवाल खेलको म्यान अफ दि म्याच घोषित भए।

तेस्रो खेलमा चारपाने भेट्रान र श्रीजङ्गा भेट्रान भद्रपुरबीचको खेल निकै रोमाञ्चक बन्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोलीले अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन्। दोस्रो हाफको ३६ औं मिनेटमा बिनोद बान्तवाले गोल गर्दै श्रीजङ्गालाई अग्रता दिलाए। त्यसको चार मिनेटपछि ४० औं मिनेटमा हर्कधन साउदेनले बराबरी गोल फर्काउँदै खेललाई ट्राइब्रेकरमा पुर्‍याए।

ट्राइब्रेकरमा श्रीजङ्गाका बिनोद बान्तवा, रणवीर आन्दङ्बे, ललितकुमार लिम्बु, भीमबहादुर मगर र शिवा राईले गोल गरे। चारपानेका रबिन राई, पूर्णबहादुर लिम्बु, अमित गुरुङ र धनबहादुर गुरुङले गोल गरे भने प्रकाश मेचेको प्रहार पोलमा लागेर बाहिरिएको थियो। उत्कृष्ट प्रदर्शन गरेका बिनोद बान्तवा खेलको म्यान अफ दि म्याच बने।

प्रतियोगिताअन्तर्गत शनिबार पहिलो चरणको अन्तिम खेल दुधे भेट्रान निलो र फिदिम भेट्रानबीच हुनेछ। साथै दोस्रो चरणको पहिलो खेलमा पुर्वेली भेट्रान र कनकाइ भेट्रान आमनेसामने हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0