शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी चौथो कर्णबहादुर नेम्वाङ स्मृति भेट्रान फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा दुधे भेट्रानले श्रीजङ्गा भेट्रान भद्रपुरलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

दुधेका लागि खेलको १४औँ मिनेटमा हर्क बहादुर तामाङले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता बनाएको दुधेले दोस्रो हाफमा पनि उत्कृष्ट प्रदर्शन जारी राख्यो।

खेलको ५१औँ मिनेटमा मोहन तामाङको सुन्दर पासमा सन्तोष थोप्राले अर्को गोल थप्दै दुधेको जित सुनिश्चित गरे। दुवै हाफमा संयमित र आक्रामक खेल प्रस्तुत गरेको दुधेले विपक्षी टोलीलाई दबाबमा राख्दै खेल आफ्नो पक्षमा पारेको हो।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका दुधे भेट्रानका सन्तोष थोप्रा म्यान अफ दि म्याच घोषित भए।

प्रतियोगिताको सेमिफाइनल चरण भोलिदेखि सुरु हुने आयोजकले जनाएको छ। पहिलो सेमिफाइनलमा पुर्वेली भेट्रान र झिलझिले भेट्रानबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको विजेताले नगद एक लाख ५१ हजार रुपैयाँ तथा उपविजेताले ८१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0