शिवसताक्षी ।  झापा, शिवसताक्षी–३ कमलधापस्थित श्री शान्ति आधारभूत विद्यालयमा अध्ययनरत २५ जना अति विपन्न विद्यार्थीलाई विद्यालय पोसाक (हाउस ड्रेस) वितरण गरिएको छ। इलाका प्रहरी कार्यालय झिलझिलेको पहलमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरुलाई आवश्यक पोसाक सहयोग गरिएको हो।

विद्यालय परिवारले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुको शिक्षामा सहयोग पुर्‍याएको भन्दै इलाका प्रहरी कार्यालय झिलझिलेप्रति उच्च सम्मान व्यक्त गरेको छ। विशेष गरी कार्यालय प्रमुख प्रहरी निरीक्षक सुवाष केसीको नेतृत्वमा भएको सहयोगले प्रहरी र समुदायबीचको सम्बन्ध अझ बलियो बनेको विद्यालयले जनाएको छ।

विद्यालयका अनुसार “जनताको साथी प्रहरी” भन्ने नारालाई व्यवहारमै उतार्दै प्रहरीले शिक्षामा समेत सकारात्मक भूमिका निर्वाह गरेको छ। विपन्न परिवारका विद्यार्थीलाई सहयोग पुग्ने यस्तो कार्यले समुदायमा प्रहरीप्रति थप विश्वास र सम्मान बढाएको स्थानीयवासीले बताएका छन्।

यस अवसर जुटाउन समन्वयकारी भूमिका निर्वाह गर्ने पाराबारी बजार व्यवस्थापन समिति अध्यक्ष मेघराज ओझाप्रति समेत विद्यालयका प्रधानाध्यापक विष्णु भट्टराईले आभार व्यक्त गरेका छन्।

कार्यक्रमले सामाजिक सेवामा प्रहरीको सक्रियता र शिक्षाप्रति देखाएको संवेदनशीलतालाई उजागर गरेको सहभागीहरुको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0