शिवसताक्षी ।  नेपाली कांग्रेस शिवसताक्षी नगर कार्यसमितीले १९ औं गणतन्त्र दिवस रचनात्मक तथा सामाजिक उत्तरदायित्वपूर्ण कार्यक्रमका साथ मनाएको छ। गणतन्त्र दिवसको अवसर पारेर शिवसताक्षीको शिवगञ्जमा आयोजित बृहत रक्तदान कार्यक्रममा ८६ पिन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ।

गणतन्त्र दिवसलाई केवल औपचारिक कार्यक्रममै सीमित नराखी समाजलाई प्रत्यक्ष लाभ पुग्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस नगर सभापति अशोक बस्नेतले बताउनु भयो । उहाँले झापा जिल्लामा पछिल्लो समय रगतको अभाव भइरहेका बेला यस्तो कार्यक्रमले बिरामीहरूको उपचारमा केही हदसम्म सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै उहाँले रक्तदान मानवताको सबैभन्दा ठूलो सेवा भएकाले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस जिल्ला सभापति देउमान थेवेले नेपाली कांग्रेस जहिले पनि जनताको पक्षमा उभिने पार्टी भएको उल्लेख गर्दै सामाजिक तथा रचनात्मक कार्यमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आएको बताउनुभयो। उहाँले राजनीतिक गतिविधिसँगै मानवसेवा र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकतामा राखेर कांग्रेसले काम गर्दै आएको धारणा राख्नुभयो।

रक्तदान कार्यक्रममा पार्टीका नगर, क्षेत्र तथा जिल्लास्तरका नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा युवाहरुको सक्रिय सहभागिता देखिएको थियो भने पहिलो पटक रक्तदान गर्नेहरुको संख्या पनि उत्साहजनक रहेको आयोजकले जनाएको छ।

 

गणतन्त्र दिवसको अवसरमा आयोजना गरिएको यस कार्यक्रमले सामाजिक सेवासँगै मानवीय सहकार्य र सहयोगको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्।

रक्त संकलन कार्यमा नेपाल रेडक्रस दमक उपशाखा दमकले प्राविधिक सहयोग गरेको थियो भने नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीले समन्वय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0