काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मदिरा, बियर र चुरोट जस्ता वस्तुहरूमा लाग्ने करको दरमा उल्लेख्य वृद्धि गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै यी विलासिता तथा स्वास्थ्यका लागि हानिकारक मानिने वस्तुहरूमा कर बढाउने घोषणा गरेका हुन्। सरकारको यो नयाँ व्यवस्था अनुसार चुरोटमा करिब १० प्रतिशतसम्म र बजारमा उपलब्ध विभिन्न ब्रान्डका मदिरा तथा बियरमा लाग्ने अन्तःशुल्क बढाउने निर्णय गरिएको छ।
यसका साथै सरकारले आगामी आर्थिक वर्षदेखि ससाना प्रविधि प्रयोग गरी स्थानीय स्तरमा सञ्चालन हुने माइक्रो ब्रुअरीहरूलाई समेत करको दायरामा समेट्ने भएको छ। अर्थमन्त्री वाग्लेले अबदेखि माइक्रो ब्रुअरीलाई पनि मदिरा उद्योगकै रूपमा कानुनी दर्ता गराएर अनिवार्य रूपमा अन्तःशुल्कको दायरामा ल्याइने बताएका छन्। राजस्वको दायरा फराकिलो बनाउन र आन्तरिक उत्पादनको नियमनलाई बलियो बनाउन सरकारले बजेटमार्फत यस्तो व्यवस्था अघि सारेको हो।












