शिवसताक्षी । सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात संस्कृतिको विकास गर्ने उद्देश्यले शिवसताक्षी–८ झिलझिलेमा सामुदायिक–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ट्राफिक सचेतना सम्बन्धी बृहत् र्‍याली सम्पन्न भएको छ।

इलाका प्रहरी कार्यालय झिलझिले, ट्राफिक प्रहरी पोस्ट झिलझिले, झिलझिले बजार व्यवस्थापन समिति तथा स्थानीय समुदायको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमले सडक सुरक्षाप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै नागरिक र प्रहरीबीचको सहकार्यलाई थप सुदृढ बनाउने लक्ष्य राखेको थियो।

“हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी” भन्ने नारासहित आयोजित र्‍यालीमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक–विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले ट्राफिक सचेतनासम्बन्धी सन्देश लेखिएका प्लेकार्डसहित झिलझिले बजार परिक्रमा गरेका थिए।

र्‍यालीपछिको कार्यक्रममा इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुभाष केसीले ट्राफिक नियमको पालना सबै सडक प्रयोगकर्ताको साझा दायित्व भएको उल्लेख गर्दै जिम्मेवार र सचेत व्यवहारले अधिकांश सडक दुर्घटना रोक्न सकिने बताए।

त्यसैगरी ट्राफिक प्रहरी पोस्ट झिलझिलेका इन्चार्ज ट्राफिक प्रहरी सहायक निरीक्षक गंगाबहादुर मगरले तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति, हेल्मेट तथा सिटबेल्टको प्रयोग नगर्नु दुर्घटनाका प्रमुख कारण रहेको उल्लेख गरे। उनले दुर्घटना न्यूनीकरणका लागि जनचेतना नै सबैभन्दा प्रभावकारी उपाय भएको धारणा व्यक्त गरे।

झिलझिले बजार व्यवस्थापन समितिका अध्यक्ष अविनाश खरेलले सडक सुरक्षा प्रहरीको मात्र नभई सम्पूर्ण समुदायको साझा जिम्मेवारी भएको बताउँदै यस्ता अभियानहरूले सुरक्षित, सभ्य र अनुशासित समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रमका वक्ताहरूले ट्राफिक नियमको पूर्ण पालना, हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग, जेब्राक्रसिङको सही उपयोग, सवारी गति नियन्त्रण तथा ट्राफिक संकेतहरूको सम्मान गर्न सबैलाई आग्रह गरेका थिए। साथै सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0