शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–४ फुलचोकस्थित झापा इनर्जी प्लान्टमा आज दिउँसो भएको आगलागीबाट विभिन्न मेसिन तथा उपकरणहरू जलेर नष्ट भएको छ । आगलागीबाट ६ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ ।

प्रहरीका अनुसार आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन। घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ भने क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको छ।

आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय झिलझिले बाट प्रहरी निरीक्षक सुभास केसीको कमाण्डमा ७ जना र इलाका प्रहरी कार्यालय शिवगञ्ज बाट प्रहरी सहायक निरीक्षक बेनु बास्कोटाको कमाण्डमा ४ जनाको प्रहरी टोली परिचालन गरिएको थियो।

त्यसैगरी शिवसताक्षी नगरपालिका र कमल गाउँपालिका का दमकल, सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागितामा आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।

घटनापछि सम्बन्धित निकायले आगलागीको कारण तथा क्षतिको यथार्थ विवरणबारे थप अनुसन्धान गरिरहेको छ। समयमै सुरक्षाकर्मी, दमकल र स्थानीयवासी परिचालन भएकाले आगलागी थप फैलिन नपाएको र ठूलो मानवीय क्षति हुनबाट जोगिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0