काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीचका विभिन्न थाती रहेका विषयहरूको सूची तयार पारेर काम गर्न आफू तयार रहेको बताएका छन् । भारत भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको शिष्टाचार भेटमा प्रधानमन्त्री मोदीले दुई देशबीचका साझा मुद्दाहरूलाई प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।
भेटवार्ता र छलफलका विषयमा जानकारी दिँदै रास्वपा विदेश विभाग प्रमुख दीपक बोहराले प्रधानमन्त्री मोदीले सूची बनाएर त्यसको प्राथमिकता अनुसार टाइमलाइन बनाएर कामको प्रस्ताव राखेको जानकारी दिए । बोहराका अनुसार भारतीय प्रधानमन्त्रीले नेपाल–भारतबीचका विषयहरूको लिस्ट बनाउन, त्यसलाई प्राथमिकता दिन र टाइमलाइन तोकेरै काम गर्न आफूहरू तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।
भेटपछि सभापति लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग फलदायी र अर्थपूर्ण भेटवार्ता भएको बताएका छन् । ‘हामीले साझा सभ्यतागत सम्बन्ध, डिजिटल कोरिडोर र सहज कनेक्टिभिटीमा केन्द्रित भएर मात्र प्रगति र आपसी विश्वासले परिभाषित गर्ने साझेदारीको वास्तविक निर्माण गर्न सक्छौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र भारतका जनताका लागि हाम्रो साझा समृद्धिका लाग यी सम्भावनाहरूलाई यथार्थमा रूपान्तरण गर्न तत्पर छ,’ रविले लेखेका छन् ।
भेटपछि मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले लामिछानेसँगको भेटले आफूलाई खुसी तुल्याएको उल्लेख गरेका छन् । ‘साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्णरूपमा समर्थन गर्दछु’ मोदीले भनेका छन् ।
मोदीले ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल एक प्राथमिक साझेदार राष्ट्र भएको उल्लेख गरेका छन् । ‘दुवै देशबीच रहेको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न हामी उत्सुक छौं,’ रविसँगको भेटपछि मोदीले फेसबुकमा लेखेका छन् ।
सभापति लामिछाने नेतृत्वको ५ सदस्यीय टोली जेठ १८ गते ५ दिने भ्रमणका लागि भारत प्रस्थान गरेको हो । भ्रमण टोलीमा लामिछानेकी पत्नी निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख बोहरा र प्रदीप आचार्य सहभागी छन् ।












