शिवसताक्षी । विश्व वातावरण दिवसको अवसरमा आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेड (आदर्श साकोस) दुधेले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

शिवसताक्षी नगरपालिका–९ स्थित दुधे बजारमा वित्तीय सेवा प्रदान गर्दै आएको आदर्श साकोसले दुधे–शिवगञ्ज सडक खण्डमा गमलासहित फूलका बिरुवा रोपेर विश्व वातावरण दिवस मनाएको हो।

संस्थाका व्यवस्थापक प्रकाशचन्द्र पोख्रेलका अनुसार सवारी साधनका कारण फुटेर नष्ट भएका गमलाको स्थानमा नयाँ गमला खरिद गरी फूलका बिरुवा रोपिएको हो। उहाँले सहकारीले आफ्नो सामुदायिक कोष अन्तर्गत वातावरण संरक्षण तथा सौन्दर्यीकरणका लागि उक्त कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो।

दुधे–शिवगञ्ज सडक खण्डमा यसअघि दुधे बजार विकास तथा व्यवस्थापन समिति र श्री खुद्रा बचत तथा ऋण सहकारी संस्थाले गमला व्यवस्थापन गरी फूल रोपेका थिए। तर विभिन्न समयमा सवारी साधनले केही गमला क्षति पुर्‍याएपछि आदर्श साकोसले नयाँ गमला तथा बिरुवा व्यवस्थापन गरी पुनःस्थापना गरेको हो।

कार्यक्रममा संस्थाका अध्यक्ष विष्णुलाल भट्टराई, सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरू, साथै कर्मचारीहरूको सहभागिता रहेको थियो। सहकारीले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सामुदायिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0