शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–११ स्थित दुधेमा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ। दुधे आयुर्वेद औषधालयको आयोजनामा सम्पन्न शिविरबाट २२० जनाले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
औषधालयका अनुसार शिविरमा १२० जनाको आँखा परीक्षण गरिएको थियो भने १०० जनालाई निःशुल्क आयुर्वेदिक औषधि वितरण गरिएको थियो। साथै ५० भन्दा बढी सेवाग्राहीको निःशुल्क रगत परीक्षण समेत गरिएको जनाइएको छ।
शिविरको उद्घाटन कोशी प्रदेश सभा सदस्य राधाकृष्ण खनालले गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद खनालले स्वस्थ जीवनका लागि नागरिकहरू स्वास्थ्यप्रति सधैं सचेत र संवेदनशील हुनुपर्ने बताउनुभयो। विशेषगरी आँखासम्बन्धी समस्या जटिल बन्न सक्ने भएकाले समयमै परीक्षण र उपचार गर्न सके धेरै रोगबाट बच्न सकिने उहाँको भनाइ थियो।

उहाँले दुधे आयुर्वेद औषधालयको विकास तथा स्वास्थ्य सेवाको विस्तारका लागि आफूले गर्ने प्रतिबद्धता अनुसारको सहयोग हालसम्म उपलब्ध गराउन नसकेको भन्दै आगामी आर्थिक वर्षमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
शिविरमा मेची एडभान्स आँखा अस्पताल का चिकित्सक तथा प्राविधिक टोलीले आँखा परीक्षण र परामर्श सेवा प्रदान गरेको थियो। शिविरमा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।
शिवसताक्षी नगरपालिका–११ का वडाध्यक्ष बहादुर आङ्बोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुधे आयुर्वेद औषधालयका कविराज निरीक्षक राजेन्द्र पोखरेलले सञ्चालन गर्नुभएको थियो।












