शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखामा महिलाको समान वंशीय हक तथा अधिकार सम्बन्धी दुईदिने कार्यक्रम आजदेखि सुरु भएको छ। कार्यक्रमको उद्घाटन कोशी प्रदेश सभाका सदस्य तथा पूर्वमन्त्री एकराज कार्कीले गर्नुभएको हो।
पारालिगल सेवा समाज नेपाल, झापाको आयोजनामा तथा कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा सञ्चालन भएको कार्यक्रमले महिला अधिकार, समान वंशीय हक, लैङ्गिक समानता तथा राज्यका विभिन्न निकायमा महिलाको समान सहभागिता र पहुँचका विषयमा व्यापक छलफल गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ।

कार्यक्रम उद्घाटन गर्दै पूर्वमन्त्री कार्कीले महिला अधिकारका विषयमा धेरै भाषण र बहस हुने गरे पनि व्यवहारिक रूपमा अझै पूर्ण कार्यान्वयन हुन नसकेको बताउनुभयो। उहाँले महिलालाई समान हक र अधिकार सुनिश्चित गर्न कानुनी तथा संरचनागत केही अवरोधहरू अझै कायम रहेको उल्लेख गर्नुभयो।
“संविधानले धेरै अधिकार सुनिश्चित गरे पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण र संशोधनमा विभिन्न राजनीतिक तथा प्रक्रियागत चुनौतीहरू रहेका छन्,” उहाँले भन्नुभयो, “विगतमा गठबन्धन सरकारका कारण कतिपय महत्वपूर्ण कानुनी सुधारका कामहरू अपेक्षित रूपमा अगाडि बढ्न सकेनन्।”
कार्यक्रममा प्रदेश सभा सदस्य राधाकृष्ण खनालले महिला अधिकार र समान वंशीय हकका सम्बन्धमा विद्यमान कानुनी व्यवस्था, प्राप्त उपलब्धि तथा अझै सुधार गर्नुपर्ने पक्षबारे विस्तृत छलफल गरिने बताउनुभयो। उहाँले विगतको तुलनामा महिलाहरूले उल्लेखनीय अधिकार प्राप्त गरे पनि अझै पुरुषसरह सबै क्षेत्रमा समान अवसर र अधिकार सुनिश्चित हुन बाँकी रहेको धारणा राख्नुभयो।

कार्यक्रममा पारालिगल सेवा समाज नेपाल, झापाकी अध्यक्ष अधिवक्ता हेमकला कट्टल ले संस्थाले हालसम्म सञ्चालन गरेका गतिविधि तथा महिला अधिकार प्रवर्द्धनका क्षेत्रमा गरेका कार्यहरूको बारेमा जानकारी गराउनुभएको थियो।
दुईदिने कार्यक्रमको सहजीकरण उपप्राध्यापक तथा अधिवक्ता रविन्द्र भट्टराईले गर्नुभएको छ। कार्यक्रममा विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, शिवसताक्षी नगरपालिकाकी पुर्व उपप्रमुख भोजकुमारी नेपाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको स्वागत मन्तव्य कोपिला चम्लागाईंले राख्नुभएको थियो। महिला अधिकार र समान वंशीय हक सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम भोलिसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।












