कमल । झापा जिल्ला अदालतको आयोजनामा कमल गाउँपालिकामा ‘न्यायमा बाह्य पहुँच’ कार्यक्रम सम्पन्न भएको छ।  कार्यक्रमको   झापा जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश उमेशप्रसाद लुइटेलले उद्घाटन गर्नु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला न्यायाधीश लुइटेलले अदालतको कामकारबाही, सेवा र प्रक्रियाबारे पर्याप्त जानकारी नहुँदा समुदायमा अदालतप्रति विभिन्न भ्रम र नकारात्मक धारणा रहेको बताउनुभयो। समुदायको अदालतप्रतिको बुझाइ र अपेक्षा पहिचान गर्दै भ्रम हटाउने तथा अदालत र समुदायबीच सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यले न्यायपालिकाको रणनीतिक योजनाअनुसार कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो।

उहाँका अनुसार अदालतले सेवा प्रवाहलाई सरल, सहज, निष्पक्ष र पारदर्शी बनाउन सूचना प्रविधिको प्रयोगलाई विस्तार गरेको छ। मुद्दाहरूलाई सरल, सामान्य र विशेष मार्ग समूहमा वर्गीकरण गरिएको, अनलाइन बहस तथा तारेख, एसएमएस सेवा, स्वचालित पेशी प्रणाली तथा इजलास छनोटमा गोला प्रथाजस्ता नवीन अभ्यास लागू गरिएको उहाँले बताउनुभयो।

त्यस्तै, कानुन व्यवसायी राख्न नसक्ने असहाय, अशक्त, नाबालक, विपन्न तथा थुनामा रहेका व्यक्तिहरूलाई वैतनिक कानुन व्यवसायी तथा स्वेच्छिक कानुनी सेवा (प्रो बोनो सेवा) मार्फत कानुनी सहायता उपलब्ध गराइँदै आएको जानकारी पनि उहाँले दिनुभयो।

कार्यक्रममा कमल गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक प्रमिला न्यौपाने, झापा जिल्ला अदालतका स्रेस्तेदार डिल्लीराम प्रसाई, न्यायिक समितिका सदस्य रविन राई र बालकुमारी प्रसाई, गाउँपालिका कार्यसमिति सदस्य मनमाया सिटौला लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा कमल गाउँपालिकाका विभिन्न वडाका जनप्रतिनिधि, मेलमिलापकर्ता, समाजसेवी तथा सर्वसाधारण गरी ५० भन्दा बढीको सहभागिता रहेको थियो।

कार्यक्रमले समुदायमा अदालतप्रतिको भ्रम हटाउन र न्यायिक प्रक्रियाबारे बुझाइ बढाउन महत्वपूर्ण भूमिका खेलेको उपाध्यक्ष प्रमिला न्यौपानेले बताउनुभयो।

उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन झापा जिल्ला अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेतले गर्नुभएको थियो।

कार्यक्रममा सहभागीहरूले अदालतसम्बन्धी जिज्ञासा तथा गुनासाहरू राखेका थिए। सो अवसरमा अन्तरसंवादमार्फत प्रश्नहरूको जवाफ दिइएको थियो भने जिल्ला न्यायाधीशबाट न्यायिक समितिको कामकारबाहीको निरीक्षणसमेत गरिएको थियो।

न्यायमा पहुँच विस्तार गर्ने तथा न्यायपालिकासम्बन्धी समस्या र गुनासाको सम्बोधन गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन्। अदालतबाट प्रदान गरिने सेवा, सूचना तथा प्रक्रियाबारे थप जानकारी आवश्यक परे झापा जिल्ला अदालतको वेबसाइटमार्फत जानकारी लिन सकिने अदालत प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0