शिवसताक्षी । आर्थिक अभावका कारण विद्यालय शिक्षाबाट वञ्चित हुन पुगेका एक बालकको शिक्षायात्रा स्थानीय सहयोगी मनहरूको पहलमा सुरु भएको छ। झापाको शिवसताक्षी नगरपालिका–११ दूधे निवासी युनिक थापालाई युवा समाजसेवी सागर आचार्यको पहलमा श्री भगवती माध्यमिक विद्यालयमा यूकेजी कक्षामा भर्ना गरिएको हो।

दैनिक जीवनयापनमै संघर्षरत चन्द्रबहादुर थापाको परिवारलाई केही वर्षअघि समाजसेवी आचार्यले १० धुर जग्गामा स्थायी बसोबासको व्यवस्था मिलाइदिएका थिए। हाल परिवारले सोही स्थानमा घर निर्माण गरी जीवनयापन गरिरहेको छ। तर आर्थिक अवस्था कमजोर भएकै कारण छोराको अध्ययन प्रभावित हुने अवस्था आएपछि पुनः सहयोगी हातहरू एकजुट भएका हुन्।

सागर आचार्यको आह्वानमा महेश घिमिरेले २ हजार रुपैयाँ, सिंहवीर थाम्सुहाङले १ हजार रुपैयाँ र टिकाराम न्यौपानेले ५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका थिए। संकलित रकम विद्यालयका प्रधानाध्यापक रमेश दाहाललाई हस्तान्तरण गरी युनिकको भर्ना प्रक्रिया सम्पन्न गरिएको विद्यालयले जनाएको छ।

प्रधानाध्यापक दाहालले सहयोग रकम आकारमा सानो भए पनि बालकको शिक्षाका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले समुदायको यस्तो सहयोगले शिक्षा पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउन ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ गरिएको यस सहयोगले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ। सानो सहयोगले पनि कसैको भविष्य निर्माणमा महत्वपूर्ण योगदान दिन सक्छ भन्ने उदाहरण स्थानीयवासीले प्रस्तुत गरेका छन्।

सहयोगदाता सिंहवीर थाम्सुहाङले, “एक जनाको सानो सहयोग अर्कोको जीवन बदल्ने ठूलो आधार बन्न सक्छ,” भन्दै सामाजिक सहकार्य र मानवीय संवेदनाको महत्व औँल्याउनुभयो।

विद्यालयको पोसाक लगाएर उत्साहपूर्वक कक्षाकोठातर्फ अघि बढेका युनिकको मुस्कानले मानवता, सहकार्य र आशाको सुन्दर सन्देश दिएको छ। स्थानीय समुदायको साथ र सद्भावले एक बालकको भविष्य उज्यालो बनाउने मार्ग प्रशस्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0