सरोज भट्टराई
झापा । झापाको मध्य भागमा रहेको शिवसताक्षी नगरपालिकाले शिक्षा क्षेत्रमा फड्को मार्दै गएको देखिएको देखिन्छ । लगभग भौतिक पूर्वाधार सम्पन्न रहेको शिवसताक्षीको शिक्षा क्षेत्रमा अब गुणस्तर वृद्धिमा केन्द्रीत भइरहेको पाइएको हो ।
भौगोलिक हिसावले ठुलो शिवसताक्षी नगरपालिकामा ३५ वटा सामुदायिक विद्यालयहरु रहेका छन् । २४ वटा संस्थागत, ३ वटा धार्मिक, २ वटा सामुदायिक सिकाई केन्द्र र ६२ वटा बालविकास केन्द्रहरु रहेका छन् । शिक्षा विभाग अन्तर्गत प्राविधिक विषय पठनपाठन गर्ने भानु मावि र प्राविधिक तथा व्यवसायिक परिषद अन्तरगत गणेशमानसिंह अध्ययन प्रतिष्ठान सञ्चालनमा रहेका छन् । नगरका तीन विद्यालयमा स्थानीय लिम्बु भाषामा समेत पढाई हुँदै आएको छ । श्री बालनिकुञ्ज माध्यमिक विद्यालय, श्री भगवतीक विद्यालय र श्री बालसेवा आधारभूत विद्यालयमा लिम्बु भाषाका कक्षा सञ्चालनमा रहेका छन् ।
शिवसताक्षी नगरमा आ.व. २०८२÷०८३ मा सामुदायिक र संस्थागत विद्यालयहरुमा झण्डै बराबरको संख्यामा विद्यार्थीहरु रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । हाल नगरभित्र संस्थागत र सामुदायिक गरी कुल १७ हजार ३४२ विद्यार्थी अध्ययनरत छन् ।
नगरपालिकाले शिक्षामा केन्द्रको ससर्त अनुदान ३२ करोड ३९ लाख र नगरको २ करोड ६१ लाख गरी कुल बजेट ३५ करोड रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । नगरमा शिक्षा क्षेत्रमा कुल बजेटको २८.९९ प्रतिशत लगानी भएको छ ।

जसमा आर्थिक वर्ष २०८२÷०८३ मा कोशी प्रदेश सरकारबाट ४२ लाख बजेट विनियोजन भएको कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । जसमा शिवसताक्षीको ६ नम्बर वडामा रहेको शिवगञ्ज बहुमुखी क्याम्पसलाई ३ लाख, सतासीधाम बहुमुखी क्याम्पस दूधेलाई ३ लाखको कक्षा कोठा निर्माण गरिएको छ । शिवसताक्षीको शिवगञ्ज ०६ शिवगञ्जको जनआदर्श माध्यमिक विद्यालय नमुना विद्यालयको रुपमा काम भइरहेको छ । हाल उक्त विद्यालयमा भौतिक पूर्वाधारको काम भइरहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
त्यस्तै श्री भगवती आधारभूत विद्यालय शिवसताक्षी १ डुडाँमारीमा ४ कोठे विद्यालय भवन निर्माण गरिएको छ । कोशी प्रदेश सरकारको शसर्त अनुदानबाट शिवसताक्षी नगरपालिका वडा नं. ३ स्थित भानु माध्यमिक विद्यालयको खेल मैदानको स्तरोन्न्ती गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जसलाई लागी प्रदेश सरकारबाट ११ लाख बजेट विनियोजित भएको थियो ।
प्रदेश सरकारकै अनुदानबाट सरस्वती कन्या गुरुकुलमा पाठशाला निर्माण गरिएको छ, भने लालपानी माध्यमिक विद्यालयमा आइसिटी कक्षा व्यवस्थापन गरिएको पाइएको छ । यसले पनि शिक्षा क्षेत्रमा प्रदेश सरकारको पनि राम्रो उपस्थिति देखिन्छ ।

शिक्षाको गुणस्तर सुधारमा केन्द्रीत भएको शिवसताक्षी नगरपालिकाले कक्षा ८ को नतिजामा प्रगति हासिल गरेको छ । गत वर्षभन्दा राम्रो नतिजा आएको बताइएको छ । कक्षा ८ को उतिर्ण प्रतिशत ९२ रहेको छ ।
शिवसताक्षीमा २०८२ सालको एसईई परीक्षामा ८०.०९ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएको नगर शिक्षा शाखाले जनाएको छ । यो अहिलेसम्मको राम्रो नतिजा रहेको हो । जसमा सामुदायिक विद्यालयका दुई विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् । जसमा भानु माध्यमिक विद्यालय लालझोडाकाकी छात्रा कञ्चन काफ्ले र भानु माध्यमिक विद्यालय पाराबारीका छात्र मञ्जिल नेपाल रहेका छन् । त्यस्तै शिवसताक्षीको अन्तत दर्शन संस्कृत विद्यालय माइधारले एसईई परीक्षामा सत प्रतिशत नतिजा ल्याउन सफल भएको छ । यसले पनि शिवसताक्षीमा शिक्षामा गरिएको लगानीको प्रतिफल पाउन सुरु गरेको देखिन्छ ।
स्मार्ट विद्यालय अभियान प्रभावकारी
शिवसताक्षी नगरपालिकाले स्मार्ट विद्यालयको अवधारणा अनुसार विगतदेखि नै काम गर्दै आएको छ । शिवसताक्षी नगरपालिकामा नगरप्रमुखको रुपमा मेगाहाङ्ग थोप्रा निर्वाचित भएपछि उहाँले विद्यालय सुधार योजना अनुसार स्मार्ट विद्यालयको अवधारणा ल्याउनु भएको हो ।
हालसम्म नगरका ८ ओटा मावि र आधारभूत विद्यालयमा भौतिक सुधारका कामहरु भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जसमा श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय, बालनिकुञ्ज माध्यमिक विद्यालय, भगवती माध्यमिक विद्यालय, मोती माध्यमिक विद्यालय, लक्ष्मी नारायण माध्यमिक विद्यालय, लालपानी माध्यमिक विद्यालय, झिलझिले माध्यमिक विद्यालय मञ्जुश्री आधारभूत विद्यालय, सूर्योदय आधारभूत विद्यालय, बालसेवा आधारभूत विद्यालय रहेका छन् । स्मार्ट विद्यालयको अवधारणा अनुसार कक्षाकोठाहरुलाई आकर्षक बनाइएको छ ।
नगरप्रमुख मेगाहाङ्ग थोप्रा
विद्यालय प्रविधिमैत्री र अध्ययनका लागि वातावरणमैत्री बनाइएको छ, नगरप्रमुख थोप्राले भन्नुभयो, जसले बालबालिकाहरुलाई घरमा होइन विद्यालय जान प्रेरित गर्नेछ । उहाँले विद्यालयको बाहिरी आवारण मात्र होइन भित्र आवरणका लागि पनि कक्षाकोठाको निर्माण, कक्षा कोठाको भित्री डेकुरेसन, खानेपानीको व्यवस्था, प्रविधिहरुको व्यवस्थापन गरी विद्यार्थीलाई पठन पाठनमा सहज बनाउने उद्देश्यले स्मार्ट विद्यालयको अवधारणा ल्याएको थियो । यसले सार्थकता पाएको बताउनु भयो ।
स्मार्ट विद्यालय निर्माणका लागि बर्षेनी बजेट विनियोजन हुन्छ । चालु वर्षमा ७० लाख विनियोजन भएको त्यसको काम निरन्तर रुपमा हुँदै गरेको शिक्षा अधिकृत छवि ढकालले बताउनु भयो । हरेक वडामा कम्तीमा १÷१ वटा विद्यालयलाई स्मार्ट विद्यालय बनाउने लक्ष्य रहेको छ । स्मार्ट विद्यालयका रुपमा काम भएका श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा हाल ८२५ र बालनिकुञ्ज माध्यमिक विद्यालयमा ८०४ विद्यार्थीहरु हाल अध्ययनरत छन् । विद्यालय सुधार भएपछि विद्यार्थी संख्यामा बृद्धि भएको बताइएको छ ।
प्राविधिक शिक्षा र छात्रवृत्तिमा जोड
शिवसताक्षी नगरपालिकामा मात्र दुई प्राविधिक शिक्षालय रहेका छन् । शिवसताक्षीको वडा नं. ७ लालझोडामा रहेको भानु माध्यमिक विद्यालयमा सञ्चालित प्राविधिक धार र शिवसताक्षीको झिलझिलेमा रहेको गणेशमान अध्ययन प्रतिष्ठान सञ्चालनमा रहेका छन् । हाल गणेशमान अध्ययन प्रतिष्ठानको भवन निर्माणधिन अवस्थामा रहेको छ । प्रतिष्ठानले भवन निर्माण पुरा नहुन्जेल श्री झिलझिलले माध्यमिक विद्यालयको भवनमा कलेज सञ्चालन गर्दै आएको छ ।
कोशी प्रदेशको छात्रबृत्ती कार्यक्रम अन्तर्गत नगरपालिकाले साधारण तथा प्राविधिक धार तर्फबाट विद्यार्थीहरुलाई समेत छात्रवृत्ति प्रदान गर्दै आएको छ । नगरले विद्यार्थीहरुलाई १० लाख बराबरको छात्र बृत्ति प्रदान गरेको छ । गत आ.व. मा नगरपालिले विभिन्न विद्यालयमा अध्ययरत ७२ जना विद्यार्थीहरुलाई पूर्ण तथा आंशिक रुपमा छात्रबृत्ती प्रदान गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
विद्यालय समायोजन प्रकृया सुरु
शिवसताक्षी नगरपालिकाले विद्यालयको गुणस्तर सुधार शिक्षक तथा स्रोत साधनको प्रभावकारी व्यवस्थापन र न्यून विद्यार्थी भएका विद्यालयहरुको पुनसंरचना गर्ने उद्देश्यले विद्यालय मर्च (समायोजन) अवधारणालाई अघि बढाएको छ ।
यो अवधाराण विशेष गरी विद्यार्थी संख्या अत्यन्त न्यून भएका सामुदायिक विद्यालयहरुलाई नजिकका विद्यालयसँग समायोजन गरी गुणस्तरीय शिक्षामा पहुँच बढाउने लक्ष्यसँग जोडिएको छ । जस अन्तर्गत झापाको शिवसताक्षी नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयहरूको समायोजन (मर्ज) तथा तह समायोजन प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। विद्यार्थी संख्या घट्दै जानु, स्रोत–साधनको प्रभावकारी उपयोग र शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित यो प्रक्रिया सुरु गरिएको नगरपालिकाले जनाएको छ।

नगर कार्यपालिकाको कार्यालयले शिक्षा समितिको निर्णय कार्यान्वयनका लागि विभिन्न विद्यालयहरूलाई आवश्यक विवरण पेश गर्न निर्देशन दिएको हो। नगरपालिकाले मिति २०८३ वैशाख २२ गते बसेको शिक्षा समितिको बैठकले केही विद्यालयहरूलाई समायोजन÷मर्ज गर्ने तथा केही विद्यालयहरूको कक्षा तह घटाउने निर्णय गरेको छ।
नगरपालिकाका अनुसार वडा नं. ४ का जनता र कनकाई, वडा नं. १० को बालज्योति तथा वडा नं. ६ को गौरीशंकर आधारभूत विद्यालयलाई समायोजन (मर्ज) गर्ने प्रस्ताव अघि सारिएको छ। त्यस्तै वडा नं. ९ का सतासी र शिव, वडा नं. ३ को पाथिभरा, वडा नं. २ को हिमालय र वडा नं. ६ को सरस्वती आधारभूत विद्यालयलाई प्रारम्भिक बालविकासदेखि कक्षा ३ सम्म सीमित गर्ने योजना रहेको छ।
शिक्षा शाखा प्रमुख छविलाल ढकाल
यसैगरी, सहिद भीमनारायण विद्यालयलाई कक्षा ५ सम्म सञ्चालन गर्ने प्रस्ताव गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले यस कदमले विद्यालयहरूको प्रभावकारी व्यवस्थापन, स्रोत–साधनको समुचित उपयोग तथा गुणस्तरीय शिक्षामा पहुँच विस्तार हुने विश्वास व्यक्त गरेको छ। साथै, सरोकारवालासँग आवश्यक समन्वय गरी प्रक्रिया अगाडि बढाइने र निर्णय कार्यान्वयन गर्दा स्थानीय अभिभावक तथा समुदायको सुझावलाई समेत प्राथमिकता दिइने उल्लेख गरिएको छ ।
कार्यशाला तथा शिक्षक तथा विद्यार्थी सम्मान
नगरपालिकाले नगर भित्र विद्यायलहरुको शैक्षिक गुणस्तर सुधार, विद्यायल व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा उत्कृष्ट कार्य गर्ने विद्यालयलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्कृष्ट विद्यालय सम्मान कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
शिवसताक्षी नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालासँग कार्यशाला गरेको छ । शिक्षा शाखा प्रमुख ढकालका अनुसार कार्यशालाले विद्यालय क्षेत्रको कमजोरी सच्याउन मद्दत गर्नेछ भने गुणस्तर सुधारका लागि सुझावहरु संकलन गर्दैै वर्षेनी योजना बनाएको देखिएको छ ।

नगरपालिकाले संघ प्रदेश र स्थानीय तहको बजेट कार्यान्वयका लागि पूर्व शिक्षक तथा बहालवाला शिक्षकहरुबाट विज्ञ टोली बनाई निरन्तर रुपमा विद्यालयहरुको अनुगमन गर्दै आएको छ । जसमा अनुगमन समिति संयोजक तथा उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फे, शिक्षा समिति सदस्य सहित शिक्षा शाखा प्रमुख छवि ढकाल विज्ञ टोलीको उपस्थितिमा अनुगमन गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
विद्यालयहरुले शैक्षिक योजना बमोजिम काम गरे नगरेको पूर्व प्रधानाध्यापकहरुको समितिले अनुगमन गर्ने र समस्याको संकलन गरेर समाधानका लागि सहयोग गर्दै आइरहेको छ । नगर शिक्षा शाखाले शिक्षकहरुको क्षमताको अभिबृद्धिका लागि क्षमता अभिबृद्धि तालिम सञ्चालन गर्दै आएको छ । बालशिक्षकहरुका लागि मन्टेश्वरी तालिमहरु समेत सञ्चालनमा छन् ।
शिक्षक र विद्यार्थीहरुको प्रोत्सहनका लागि नगर शिक्षा शाखाले वर्षमा एकपटक नगर भित्रका उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यालय, एसईई परीक्षामा उत्कृष्ट जिपिए प्राप्त गर्ने छात्र छात्रा र स्वेच्छिक र अनिवार्य अवकास प्राप्त शिक्षकहरुलाई नगद सहित सम्मान गर्दै आएको छ । कोशी प्रदेश सरकारबाट स्थानीय स्काउट शिवसताक्षी नगर समिति सम्मानित भएको छ ।
शिक्षाका लागि थप सुधार पर्ने पक्षहरु
शिवसताक्षीमा शिक्षाको गुणस्तरका थप सुधार गर्नु पर्नेे देखिएको छ । सामुदायिक विद्यालयमा छोरा छोरी पढाउने अभिभावकहरुलाई अभिभावक साक्षरता कार्यक्रम गर्दा घरमा विद्यार्थीहरुलाई परिवारको निगरानी हुने र गृहकार्यमा सहज हुने छ ।
विद्यालयमा आधारभूत तथा माध्यमिक तहमा विषयगत शिक्षकको अभावले शिक्षामा अपेक्षा गरे अनुसार प्रगति गरेको देखिएको छैन । यसलाई विषयगत शिक्षकको व्यवस्था गरे अझ गुणस्तरमा बृद्धि हुने देखिन्छ ।
एउटै कक्षा कोठामा अध्ययन गर्ने कमजोर विद्यार्थीहरुलाई विद्यालयले अतिरिक्त कक्षा सञ्चालन गर्दा थप बलपुग्ने देखिएको छ । त्यस्तै शैक्षिक सामाग्रीसहितको पठन पाठन, प्रत्येक शिक्षकलाई दुई दुई वर्षमा नजिकको अर्को विद्यालयमा हेरफेर गर्ने, विपन्न परिवारका छोरा छोरीहरुलाई निशुल्क छात्रबाससहितको सिकाई अबलम्बन गर्न सके कोशी प्रदेशले शिक्षामा सतप्रति नतिजा ल्याउन बल पुग्ने छ ।












