महोत्तरी। नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो ‘कोइरी’ पक्राउ परेका छन्। असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरबाट कैद सजाय सुनाइएको भोलिपल्टै बिहीबार साँझ ६ बजे उनलाई महोत्तरीको गौशाला-५ स्थित एमाले पार्टी कार्यालय अगाडिबाट प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पन्चलाल गोलेले उनको पक्राउको पुष्टि गरेका छन्।
उच्च अदालत जनकपुरले बुधबार मात्रै महोत्तरी जिल्ला अदालतको यसअघिको फैसला उल्टाउँदै कोइरीलाई ५ वर्ष कैद सजाय सुनाएको थियो। महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते कोइरीलाई सफाइ दिने फैसला गरेको थियो, तर उच्च अदालतका मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सो फैसला उल्टाउँदै उनलाई दोषी ठहर गरेको हो।
सोही प्रकरणमा उच्च अदालतले अन्य अभियुक्तहरूको हकमा पनि सजाय परिमार्जन गरेको छ। जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएका अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई उच्च अदालतले ५ वर्ष कैद सजाय हुने फैसला गरेको छ। साथै, सोही मुद्दामा पवन कापरलाई पनि ५ वर्ष कैद सजाय तोकिएको छ। अर्कोतर्फ, प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरको हकमा भने जिल्ला अदालतले सुनाएको जन्मकैदको सजायलाई उच्च अदालतले सदर गरेको छ।
२०७२ भदौ २५ गते भएको असई थमन विकको हत्या प्रकरणमा कोइरीसहित २८ जना विरुद्ध २०७५ साउन २८ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो। उच्च अदालतको पछिल्लो फैसलापछि प्रहरीले कोइरीलाई पक्राउ गरेको हो।












