शिवसताक्षी । मिसियो म्युनिखको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिकासँगको समन्वयमा कारितास नेपालद्वारा सञ्चालित ूसुरक्षित आप्रवासनमार्फत मानव बेचबिखन विरुद्धको सबलीकरण परियोजनाू अन्तर्गत एकदिने सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
शिवसताक्षी नगरपालिका–८, झिलाझिले सिर्जना टोलस्थित श्री पशुपति एकेडेमी अङ्ग्रेजी उच्च माध्यमिक विद्यालयमा विद्यार्थीका अभिभावक, स्थानीय समुदायका फिर्ती आप्रवासी, सम्भावित आप्रवासी तथा आप्रवासी परिवारका सदस्यहरूलाई अभिमुखीकरण गराइएको हो ।
वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनुका साथै फिर्ती आप्रवासीहरूलाई स्वदेशमै पुनःस्थापना गरी स्वरोजगारमुखी कार्यमा संलग्न हुन प्रेरित गर्नका लागि अभिमुखीकरण गराइएको सामाजिक परिचालक चिरन्जीवि लुईटेलले बताउनु भयो ।
वैदेशिक रोजगारीमा जानै परेमा आवश्यक सीप हासिल गरी दक्ष जनशक्ति बनेर नेपाल सरकारले तोकेका सबै कानुनी प्रक्रिया र मापदण्ड पूरा गर्दै सुरक्षित रूपमा वैदेशिक रोजगारीमा जान तथा कुनै पनि प्रकारको ठगीबाट जोगिन सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रममा वैदेशिक रोजगारीमा जानुअघि अपनाउनुपर्ने सावधानी, विदेशमा रहँदा सुरक्षित रहने उपाय, स्थानीय तहअन्तर्गत सञ्चालन हुने रोजगार सेवा केन्द्रबाट प्राप्त हुने सेवाहरू, श्रम स्वीकृति, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार कल्याणकारी कोष तथा वैदेशिक रोजगारीका क्रममा आइपर्ने समस्याको समाधानका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूको भूमिकाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
परियोजनाका सामाजिक परिचालक चिरञ्जीवी लुइटेल ले स्वदेशमै उपलब्ध अवसरहरूको उपयोग गर्दै स्वरोजगारमा लाग्न सबैलाई आग्रह गर्दै वैदेशिक रोजगारीमा जानै परे पनि आवश्यक सीप, जानकारी र कानुनी प्रक्रिया पूरा गरेर मात्र अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा ५५ जनाको सहभागिता रहेको थियो। विद्यालयका संस्थापक तथा प्रधानाध्यापक चन्द्रप्रसादखनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गौरादह नगरपालिकाका दुर्गाप्रसाद खनालले सहजीकरण गर्नुभएको थियो।
आयोजकका अनुसार यस्ता सचेतनामूलक कार्यक्रमहरूले सुरक्षित आप्रवासन प्रवर्द्धन, मानव बेचबिखन न्यूनीकरण तथा फिर्ती आप्रवासीहरूको सामाजिक तथा आर्थिक पुनःस्थापनामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।












