बेदिका केसीकाे आरोपले तनावमा रहेको दाबी
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरस्थित पाथीभरा मन्दिरकी माताले शुक्रवार फेसबुक लाइभमार्फत विष सेवन गरेकी छन्। विष सेवन गरेपछि उनलाई तत्काल उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल, सुर्खेत लगिएको थियो ।
प्रदेश अस्पतालका उपसचिव तथा सूचना अधिकारी अनिता ज्ञवालीका अनुसार उनको आईसीयूमा उपचार भइरहेको छ। हाल अवस्था सामान्य रहेको उनले जानकारी दिइन्।
ज्ञवालीका अनुसार विष सेवन गरेका बिरामीको अवस्था सेवन गरेको विषको मात्रा र प्रकृतिअनुसार फरक–फरक हुने गर्दछ। धेरै मात्रामा विष सेवन गरेको अवस्थामा असर क्रमशः शरीरमा देखिन सक्ने र कम मात्रामा सेवन गरेको भए बिरामीको अवस्था सामान्य रहन सक्ने उनले बताइन्।
घटनापछि माताका आफन्तले समाजसेवी बेदिका केसी र प्रकाश सुवेदीलाई सुर्खेतमा आएर आफूहरूले लगाएका आरोपको प्रमाण प्रस्तुत गर्न आग्रह गरेका छन्।
माताकी श्रीमतीले प्रमाणविना कुनै व्यक्तिको चरित्र हत्या गर्ने र झुटा आरोप लगाउनेमाथि कानुनी कारबाही हुनुपर्ने माग गरेकी छन्। साथै, पाथीभरा माताको स्वास्थ्यमा कुनै अप्रिय घटना भए त्यसको जिम्मेवारी बेदिका केसीले लिनुपर्ने आफन्तको भनाइ छ।
चार दिनअघि प्रसारण भएको ‘प्रकाश सुवेदी शो’ मा अन्तर्वाता दिएकी बेदिका केसीले पाथीभरा माता (समीर थापा) सम्बन्धमा विभिन्न टिप्पणी गरेकी थिइन्।
उनले समीर थापा पुरुष रहेको, विवाह गरिसकेको, आफूलाई माता भनेर प्रस्तुत गरेको, सामाजिक सञ्जालमा स्विमसुट लगाएर रमाइलो गरेको तथा मदिरा सेवन गरेको देखिने भिडियो सार्वजनिक गरेको भन्दै धर्मको नाममा ढोंग गरेको आरोप लगाएकी थिइन्। साथै, उनले आफूविरुद्ध अपशब्द प्रयोग गरेर भिडियो बनाएको दाबी पनि गरेकी थिइन्।
उक्त अन्तर्वार्तापछि पाथीभरा माताले सामाजिक सञ्जालमार्फत लगातार भिडियो सार्वजनिक गर्दै आफ्नो धारणा राख्दै आएकी थिइन्। शुक्रवार भने उनले फेसबुक लाइभमै विष सेवन गरेकी हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












