काठमाडौँ । कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर सुकुम्वासीहरुको अवस्था बुझ्न पुगेका जेनजी अभियान्ताहरु माजिद अन्सारी, मोनिका निरौला, रिया बानियाँ र सरिस्मा थापामाथि प्रहरीले कूटपिट तथा धरपकड गरेको छ । प्रहरीको कूटपिट तथा धरपकडबाट माजिद अन्सारी घाइते भएका छन् ।

गएरातिको वर्षासँगै बागमतीमा आएको बाढी होल्डिङ सेन्टरमा पसेपछि त्यहाँ बसिरहेका सुकुम्बासीहरूको अवस्था बुझ्न पुगेका केही जेनजी अभियानीहरूलाई शनिबार दिउँसो प्रहरीले धरपकड गरेको हो।

घटनाबारे जानकारी दिँदै अभियन्ता माजिद अन्सारीले आफूहरूलाई प्रहरी वृत्त कीर्तिपुरमा राखिएको र आफूमाथि निर्घात कुटपिट भएको बताएका छन्। उनले भने, ‘हामीलाई पक्राउ पुर्जी दिइएको छैन। मेरो नाक र मुखबाट रगत आइरहेको छ।’

गएरातिको अविरल वर्षाका कारण बागमती नदीमा आएको बाढी होल्डिङ सेन्टरभित्र पसेपछि त्यहाँ आश्रित सुकुम्वासीहरूको अवस्था बुझ्न अभियन्ताहरू घटनास्थल पुगेका थिए। सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा प्रहरीले उनीहरूलाई लछारपछार गर्दै गाडीमा राखेको देखिन्छ। उक्त क्रममा प्रहरीले अश्लील शब्द प्रयोग गरेको र माजिद अन्सारीको अनुहारमा चोट लागेर रगत बगिरहेको भिडियोमा प्रस्ट देखिन्छगाडीमा राखिएपछि पनि प्रहरीले अन्सारीमाथि आक्रोश पोखेको सुनिन्छ।

यसैबीच, जेनजी मुभमेन्ट अलायन्सले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै आफ्ना प्रतिनिधिहरूलाई बिनासर्त रिहा गर्न माग गरेको छ। अलायन्सले उक्त घटनालाई ‘गैरकानुनी’ संज्ञा दिँदै स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषी प्रहरीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ।

जेन–जी अभियन्ता भावना राउतले उनीहरूको रिहाइको मागसहित सामाजिक सञ्जालमा लेखेकी छन्, ‘लाजलाई पनि लाज लागिसक्यो, माननीय गृहमन्त्रीज्यू । हिजो सडकमा हुँदा हातहतियारबिना शान्तिपूर्ण प्रदर्शन गर्न पाउने नागरिकको अधिकारका लागि लड्नुभएको होइन र ? आज त्यही अधिकारको पक्षमा बोल्नेहरू नै अपराधी बनाइँदै छन् । सत्ताले यति धेरै बदलिदिन्छ ? कि सत्ता ले अन्ततः सबैलाई आफ्नै दास बनाउँछ ? यदि मानव अधिकारको पक्षमा उभिनु अपराध हो भने हामी सबै अपराधी हौँ । सबैलाई थुन्ने जेल बनाइदिनुस् ।’

अभियन्ता सरिस्मा थापाले प्रहरीले आफूहरूलाई गृहमन्त्रीको स्वकीय सचिव ओजश्वी थापाको इशारामा कुटेको बताइन् । भनिन्, ‘माजिद अन्सारीलाई प्रहरीले पिट्नुअघि ओजश्वीले नै प्रहरीलाई पिट्न इशारा गरेका थिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0