झापा। झापाको शिवसताक्षी नगरपालिका–८ ले घरपालुवा कुकुरको व्यवस्थापनलाई व्यवस्थित र जिम्मेवार बनाउन नयाँ व्यवस्था लागू गरेको छ। अब यस वडाभित्र कुकुर पाल्न चाहने व्यक्तिले वडा कार्यालयबाट अनिवार्य रूपमा अनुमति तथा दर्ता गराउनुपर्ने भएको छ।

सामुदायिक कुकुरको टोकाइका घटना बढ्दै जाँदा स्थानीयवासीको सुरक्षा चुनौतीपूर्ण बनेपछि यस्तो निर्णय गरिएको वडाध्यक्ष सन्तकुमार फेवदिनले जानकारी दिए। उनका अनुसार कुकुरको आक्रमणका कारण सर्वसाधारण घाइते हुने र आवतजावतमा समेत असहजता बढेकाले दर्ता प्रणालीमार्फत कुकुर व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्य राखिएको हो।

वडा कार्यालयले सार्वजनिक सूचना जारी गर्दै कुकुर पाल्ने सबैलाई अनिवार्य रूपमा दर्ता प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ। दर्ताका लागि कुकुर धनीको व्यक्तिगत विवरणसँगै कुकुरको जात, उमेर, लिंग, रङ, उचाइ, लम्बाइ र तौलसम्बन्धी विवरण पेश गर्नुपर्नेछ।

त्यसैगरी, रेबिजविरुद्धको खोप लगाएको प्रमाणपत्र, कुकुर तथा धनीको रंगीन तस्बिर र वडा कार्यालयले तोकेको जिम्मेवारीसम्बन्धी सम्झौतापत्र पनि अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। वडा कार्यालयले तयार पारेको कार्यविधि स्वीकार नगर्ने व्यक्तिलाई वडाभित्र कुकुर पाल्न अनुमति नदिइने वडाध्यक्ष फेवदिनले बताए।

वडा कार्यालयका अनुसार हालसम्म १२ जना कुकुर धनीले आफ्ना कुकुर दर्ता गराइसकेका छन्।

यसअघि शिवसताक्षी–८ मा सामुदायिक कुकुरको टोकाइबाट नौ जना स्थानीयवासी घाइते भएका थिए। घाइतेहरूलाई नगरपालिकाले रेबिजविरुद्धको खोप उपलब्ध गराउनुका साथै उपचार सहयोगस्वरूप प्रतिव्यक्ति १० हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेको थियो।

वडा कार्यालयले दर्ता प्रणालीमार्फत घरपालुवा कुकुरको जिम्मेवार व्यवस्थापन, जनस्वास्थ्यको संरक्षण तथा रेबिजलगायतका सम्भावित जोखिम न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0