अनलाइनखबरको गेटमा गाडी राख्ने व्यक्तिले उल्टै थर्काएर भने- के शङ्कास्पद भयो ? त्यसमा बम थियो ?
काठमाडौँ । काठमाडौँमा आज बिहानैदेखि बेवारिसे गाडीको आतङ्क सिर्जना भएको छ । निजी नम्बरप्लेटका गाडीहरु मिडिया हाउसदेखि नेताका घरसम्म शङ्काष्पद ढङ्गले पार्किङ गरिएको अवस्थामा भेटिएका छन् ।
तीनकुनेस्थित कान्तिपुरको कार्यालय, बुद्धनगरस्थित अनलाइन खबरको कार्यालय र मध्यवानेश्वरमा रहेको हिमालय टिभिको कार्यालयका गेटमा बिहान बेवारिसे अवस्थामा निजी नम्बर प्लेटका कार भेटिए ।
यस्तै कांग्रेस नेता गगन थापाको रातोपुलस्थत घर र अनामनगरस्थित भाटभटेनी सुपरमार्केट अगाडि पनि बेवारिसे गाडीहरु पार्किङ गरिएका थिए ।
यसरी एकै तरिकाले फरक-फरक स्थानमा गाडीहरु अलपत्र छाड्दा गम्भीर शङ्का उब्जिएको छ । धेरैले यो घटनालाई हालै मुगुका युवा गणेश नेपालीले गरेको आत्महत्या प्रकरणसँग जोडेर हेरेका छन् ।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि जथाभावी मोटरसाइकल पार्किङ गरेको विषयमा गणेश र महानगर प्रहरीबीच विवाद भएको थियो ।
विवाद लगत्तै गणेशले शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरे । सो घटनापछि असुरक्षाका कारण भन्दै नगरप्रहरी सडकमा निस्किएन । जसले गर्दा काठमाडौँमा फुटपाथ अस्तव्यस्त बन्यो ।
यो घटनामा विरोधी दल र सञ्चारमाध्यमले सरकारको चर्को आलोचना गरिरहेका थिए । सरकारको अव्यवहारिक नीति र चर्को जरीवानाका कारण गणेशले आत्मदाह गर्नुपरेको आरोप लागिरहेको छ । त्यसलगत्तै सञ्चारमाध्यम र नेताका घरमा यसरी गाडीहरु जथाभावि पार्किङ गरिनुलाई ‘स्याल कराउनु र कुखुरा हराउनु एकैसाथ भएको’ मात्र मान्न सकिन्न । यो पूर्णरुपमा योजनावद्ध रहेको सहजै आँकलन गर्न सकिन्छ ।
बेवारिसे गाडीहरुबारे सञ्चारमाध्यमहरुमा समाचार आएपछि काठमाडौँ प्रहरीले सक्रियता देखायो । क्रेनको सहयोगले ती सबै गाडीहरु हटाएर रामशाहपथस्थित ट्राफिक कार्यालयमा थुपारिएका छन् । तर अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन ।
प्रहरीले छानबिन भइरहेको मात्रै बताएको छ । प्रहरीले देखाउनका लागि मात्रै ‘छानबिन’ को नाटक गरेको र कारवाहीको कुनै मनसाय नदेखाएको आरोप लागेको छ ।
लाखौं मूल्यका गाडीहरु कुनै पनि सवारीधनीले यत्तिकै असुरक्षितरुपमा छाडेर हिँड्न सक्दैन । त्यसैले यसमा ठूलै शक्तिको योजना हुनुपर्ने धेरैले अनुमान गरेका छन् । विपक्षी नेताहरुले सिधै सरकारमाथि आरोप लगाएका छन् ।
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफ्नो घरमा कार छोड्ने व्यक्ति प्रशासनको गाडी चढेर हिँडेको दावी गरे ।
उनले भने, ‘७ बजे दुई जना साथीहरूले लगेर राख्नु भएको रे, त्यहाँका स्थानीय स्थानीय साथीहरूले भनेअनुसार गाडी राख्ने मान्छे प्रशासनको गाडी चढेर गएको छ । यो अचम्म, कसले गरेको भन्दा त सरकार आफैँले गरेको हुन्छ ।’
राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पनि शङ्काको सुइ सरकारतिरै तेर्स्याएका छन् । यो घटनामा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ नै जिम्मेवार रहेको उनको दाबी छ ।
पत्रकार महासंघ र मिडिया सोसाइटीले यस घटनालाई प्रेस स्वतन्त्रतासँग जोडेर विरोध गरेका छन् । एमालेले पनि सरकारमाथि प्रश्न उठाउँदै छानविनको माग गरेको छ ।
सत्तारुढ रास्वपाले नै यो घटनालाई लिएर विज्ञप्ति जारी गर्दै छानबिनको माग गरेको छ । यस्ता शंकाष्पद गतिविधमा संलग्नलाई पहिचान गरी कानून बमोजिम कारवही गर्न माग गरिएको छ ।
तर बेवारिसेमध्येको एउटा गाडी रास्वपाकै नेताको भएको पुष्टी भइसकेको छ । कान्तिपुरको कार्यालय गेटमा राखिएको गाडी रास्वपाको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका सदस्य रहेका रवी जैसवालको रहेको खुलेको हो ।
बा ०१–०३४ च ८४८० नम्बरको गाडी (ओमोडा J6 इलेक्ट्रोनिक जीप- २०२४ मोडल) जैसवालको नाममा नामसारी भने भएको छैन । पिता कन्थमणि प्रसाद कलवारका अनुसार एक महिनाअघि मात्रै जैसवालले सो गाडी खरिद गरेका हुन् ।
ज्योति कन्सर्नको नाममा बुकिङ गरेको गाडी बिक्रेता एसटी मोटर्सको नाममा नै रहेको छ । जैसवाललाई महाधिवेशनअघि महामन्त्री भूपदेव शाहले विभागमा मनोनीत गरेका थिए ।
कान्तिपुरले आफ्नो कार्यालयको गेटमा अज्ञात व्यक्तिले गाडी पार्किङ गरेर हिँडेको सीसीटीभी फुटेज सार्वजनिक गरेको छ । उक्त फुटेजमा सुरक्षा गार्डले सम्झाउँदा सम्झाउँदै पनि चालकले गाडी छाडेर हिँडेको देखिन्छ ।
अनलाइन खबरमा गाडी छेड्ने व्यक्तिको पनि पहिचान भएको छ । अनलाइनखबरको गेटअगाडि बा १२च ८५४५ नम्बरको हुण्डाइ ग्राण्ड आइ१० पार्किङ गरिएको थियो । यो गाडी सुनिल पौडेलको नाममा छ ।
अनलाइन खबरले पौडेल आँखा क्लिनिक सञ्चालक रहेको समाचार प्रकाशित गरेको छ । समाचारमा उल्लेख भएअनुसार पौडेलले गाडी आफ्नो भएको स्वीकारेका छन् । तर आफूले पार्किङ नगरेको उनको भनाइ छ ।
अनलाइनखबरको समाचारमा दिइएको विवरण यस्तो छ-
पौडेलले गाडी आफ्नै भए पनि कहाँ पार्किङ गरिएको थियो भन्नेबारे आफूलाई थाहा नभएको बताए ।
‘त्यो गाडी मेरो नाममा छ तर त्यो अर्कैले चलाइरहेको छ । म उसको नम्बर दिन्छु, ऊसँगै कुरा गर्नुस् है,’ उनले भने । यो नम्बरमा फोन गर्नुस् न भन्दै ९८…..४९८ नम्बर दिए । अनलाइनखबरले ट्रु कलरमा हेर्दा सो नम्बर सुजन पौडेलले प्रयोग गर्ने गरेको पाइयो । सुजन सुनिलका सहोदर दाइ रहेको गोकर्णेश्वरका एक स्थानीयले बताए ।
केही समयमा सो नम्बरबाटै अनलाइनखबरकर्मीलाई फोन गरेर ती व्यक्तिले ‘जे पायो त्यही लेख्ने, तपाईंको गेटमा गाडी पार्किङ गर्दा कसरी शङ्कास्पद भयो ? बम राखेको छ त्यसमा ? तपाईँहरूले जे गरे पनि हुन्छ ? के भएर छोड्देको ? तपाईं जे पायो त्यही लेख्न पाउनुहुन्छ ? अधिकार छ ? तपाईंको गेटअगाडिको ठाउँ रोड हो, तपाईंको नक्सामा पर्छ त्यो ? कानुनले आफ्नो काम गर्छ । हामीले गाडी राख्यौँ, सक्यो त !’ भन्दै गाली गरे ।
हिमालय टेलिभिजनको गेटमा सेतो रङ्गको साङ्योङ कोराण्डो जीप (२०११ मोडल) पार्किङ गरिएको थियो । यो गाडीको सवारी दर्ता नम्बर बा १० च १२५५ रहेको छ । यातायात कार्यालयमा रहेको विवरण अनुसार यो गाडी हाल राजीवकाजी श्रेष्ठको नाममा छ ।
सामान्यतया गाडी फेला परेको अवस्थामा यसको धनी पत्ता लगाउन कुनै महाभारत हुँदैन । सञ्चारमाध्यममा विस्तृत विवरण आइसक्दा पनि अहिलेसम्म प्रहरीले कसैलाई पनि नियन्त्रणमा नलिनुले शङ्का थपिएको छ । उनीहरु आफैं गाडी लिन आउने र ५ सय रुपैयाँ जरीवाना तिराएर गाडी फिर्ता दिने प्रहरीको तयारी छ ।












