शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–११, दुधेस्थित सताक्षीधाम साहित्य सङ्गमले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती विविध साहित्यिक कार्यक्रमका साथ मनाएको छ।

आइतबार श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा कविता तथा गजल वाचन गर्दै सहभागी साहित्यकारहरूले नेपाली भाषा–साहित्यका शिखर व्यक्तित्व आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

कार्यक्रममा सहभागी साहित्यकारहरूले आफ्नै सिर्जनाका कविता तथा गजल प्रस्तुत गर्दै नेपाली साहित्यको विकासमा भानुभक्त आचार्यले पुर्‍याएको ऐतिहासिक योगदानको स्मरण गरेका थिए। वक्ताहरूले नेपाली भाषालाई जनजनसम्म पुर्‍याउन तथा रामायणलाई नेपाली भाषामा अनुवाद गरी नेपाली साहित्यलाई समृद्ध बनाउन भानुभक्तले खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गरे।

भानुजयन्तीको अवसरमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार पुण्यप्रसाद सिग्देल (सुरुङ्गा), रोहिणी रसिक, मातृका धिताल, समीक्षक भीम दाहाल, लोकमणि गौतम, युवराज अधिकारी, देवु चापागाई, तनुजा खतिवडा, उर्मिला अधिकारी, दधिराम खनाल, कृष्णप्रसाद दाहाल, सञ्जय राई, नरपति पाठक, अनिल आचार्य, रेवत खनाल, वीरेन्द्र थोक्लिहाङ, छविलाल दवाडी, योन्देन सुनुवार, पदमप्रसाद दाहाल, भिजन गुरागाईं, गङ्गाराम खनाल, वीरेन्द्र बस्नेत, मनीष घिमिरे लगायत तीन दर्जनभन्दा बढी साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सताक्षीधाम साहित्य संगमका अध्यक्ष उमानाथ दाहालको अध्यक्षतामा भएको  कार्यक्रममा साहित्यकार श्रीप्रसाद खरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन साहित्यकार यादव घिमिरेले गर्नुभएको थियो।

सताक्षीधाम साहित्य सङ्गमले हरेक वर्ष भानुजयन्तीका अवसरमा यस्ता साहित्यिक कार्यक्रम आयोजना गर्दै स्थानीय स्रष्टाहरूलाई सिर्जना प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0