भद्रपुर। जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२/८३ मा दर्ता तथा जिम्मेवारी सरी आएका कुल ७,५४९ मुद्दामध्ये ४,५३५ वटा मुद्दा फर्छ्यौट गरेको जनाएको छ।
अदालतका प्रमुख न्यायाधीश उमेशप्रसाद लुइटेलका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका ३,२३२ र चालु आर्थिक वर्षमा दर्ता भएका ४,३१७ गरी कुल ७,५४९ मुद्दा रहेकोमा ४,५३५ मुद्दा फर्छ्यौट भएका छन्। हाल ३,०१४ मुद्दाको निर्णय हुन बाँकी रहेको उनले जानकारी दिए।
उनका अनुसार अदालतले ६५ प्रतिशत मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेको भए पनि विभिन्न कारणले ६१ प्रतिशत मात्र फर्छ्यौट गर्न सफल भएको हो।
लुइटेलले गत वर्षको भदौ २३ र २४ गतेको आन्दोलन, त्यसबाट अदालतको सूचना प्रणाली (CMS) मा आएको अवरोध तथा संघीय संसदको निर्वाचन लगायतका कारण लक्ष्यअनुसार मुद्दा फर्छ्यौट गर्न नसकिएको बताए।
उनले छिटो, छरितो र गुणस्तरीय न्याय प्रदान गर्ने उद्देश्यसहित २०६१ सालदेखि रणनीतिक योजना कार्यान्वयन हुँदै आएको र हाल पाँचौं रणनीतिक योजना कार्यान्वयनमा रहेको जानकारी दिए। झापा जिल्ला अदालतले निष्पक्ष, छिटोछरितो र सरल न्यायसम्पादन, मेलमिलाप पद्धतिको प्रवर्द्धन तथा अदालतप्रति जनआस्था अभिवृद्धिलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि प्रभावकारी न्यायसम्पादनका लागि सबै सरोकारवालाको समन्वय र सहयोग आवश्यक रहेको उनले बताए।
अदालतका श्रेस्तेदार उपसचिव डिल्लीराम प्रसाईले बढ्दो मुद्दाको चापका बाबजुद उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै छिटो, निष्पक्ष, जवाफदेही, पारदर्शी र प्रभावकारी रूपमा न्यायसम्पादन भइरहेको बताए।
अदालतका प्रशासन शाखाका अनुसार झापा जिल्ला अदालतमा ९ जना न्यायाधीशको दरबन्दी रहेको छ। सेवाप्रवाहलाई थप छिटो, सरल र पारदर्शी बनाउन अदालतले मुद्दाको प्रकृतिअनुसार सरल, सामान्य र विशेष मार्ग समूहमा वर्गीकरण, स्वचालित पेशी प्रणाली, गोला प्रथाबाट इजलास छनोट, अनलाइन सुनुवाइ, अनलाइन तारेख लगायतका व्यवस्था लागू गरेको छ।
अदालतका शाखा अधिकृत तथा सूचना अधिकारी रामचन्द्र बस्नेतका अनुसार मुद्दाको कारबाही, पेशी तथा फैसला सम्बन्धी विवरण अदालतको वेबसाइटमार्फत पनि हेर्न सकिने व्यवस्था गरिएको छ।












