झापा । डिजिटल प्रविधिको विस्तारसँगै आर्थिक कारोबार सहज बन्दै गए पनि झापामा वित्तीय अपराधका घटना भने बढ्दै गएको पाइएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा बैंकिङ कसुर, ठगी, अनलाइन सट्टेबाजी तथा आपराधिक लाभसम्बन्धी गरी ३७३ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये २७० वटा मुद्दा फर्छ्यौट भइसकेका छन् भने १०३ वटा मुद्दा अनुसन्धानकै क्रममा रहेको जनाइएको छ ।
उक्त घटनामा संलग्न १५५ जना पक्राउ परेका छन् भने ३१० जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले बताएका छन्।
‘प्रविधिको दुरुपयोग, अपरिचित व्यक्तिलाई सहजै विश्वास गर्ने प्रवृत्ति र आर्थिक कारोबारमा पर्याप्त सावधानी नअपनाउँदा वित्तीय अपराधका घटना बढिरहेका छन् र फरार अभियुक्तहरूको खोजीलाई पनि तीव्र बनाइएको छ’ प्रहरी नायब उपरीक्षक अवालेले बताए ।
प्रहरीका अनुसार सबैभन्दा धेरै बैंकिङ कसुरका २९४ वटा मुद्दा दर्ता भएका छन्। त्यसमध्ये २२० वटा फर्छ्योट भएका छन् भने ७४ वटा मुद्दा बाँकी छन्। यस्तै ठगीका ६५ वटा मुद्दामध्ये ४० वटा फर्छ्योट भएका छन् भने २५ वटा अनुसन्धानकै क्रममा रहेका छन्।
त्यसैगरी आपराधिक लाभसम्बन्धी १२ वटा मुद्दा दर्ता भएकामा आठ वटा फर्छ्योट भएका छन् भने चार वटा बाँकी छन्। सट्टेबाजी (वेटिङ) सम्बन्धी दुई वटा मुद्दा दर्ता भएकामा दुवै फर्छ्योट भइसकेका छन्।
पछिल्लो समय बैंक खाता, ओटिपी, पासवर्ड तथा अन्य व्यक्तिगत विवरण दुरुपयोग गरी बैंकिङ ठगी, अनलाइन किनमेल, चिठ्ठा परेको र घरबाटै काम गरेर आम्दानी हुनेजस्ता प्रलोभन देखाएर हुने ठगीका घटना बढिरहेका हुन्।
अनलाइन भुक्तानी तथा डिजिटल कारोबार गर्दा व्यक्तिगत विवरण गोप्य राख्न, अपरिचित लिङ्क वा सन्देशमा विश्वास नगर्न र छिटो धेरै आम्दानी हुने प्रलोभनबाट सचेत रहन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।












