शिवसताक्षी। मिसियो म्युनिखको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिकासँगको समन्वयमा कारितास नेपालद्वारा सञ्चालित ‘सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखन विरुद्धको सबलीकरण परियोजना’ अन्तर्गत एकदिने अन्तरक्रिया तथा अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।

वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनुका साथै वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका आप्रवासीलाई स्थानीयस्तरमै पुनःस्थापना गरी स्वरोजगार तथा उद्यमशीलतामा जोड्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम शिवसताक्षी नगरपालिका–८, काभ्रेचोकस्थित आप्रवासी सञ्जाल समूह शान्तिटोल आईपीएम कृषक पाठशालामा सम्पन्न भएको हो।

कार्यक्रममा वैदेशिक रोजगारीमा रहेका व्यक्तिका परिवारका सदस्य, फिर्ती आप्रवासी, सम्भावित आप्रवासी, परियोजनाबाट प्रत्यक्ष लाभान्वित भई स्वदेशमै सफल उद्यम सञ्चालन गरिरहेका व्यक्तिहरू तथा आप्रवासी सञ्जाल समूह शान्तिटोल आईपीएम कृषक पाठशालाका सदस्य गरी ३५ जनाभन्दा बढीको सहभागिता रहेको थियो।

परियोजना परिचालक चिरञ्जीवी लुइटेलका अनुसार कार्यक्रमको मुख्य उद्देश्य वैदेशिक रोजगारीका अनुभव, त्यस क्रममा भोग्नुपरेका चुनौती, स्वदेश फर्किएपछि पुनःस्थापनाका प्रक्रिया, उद्यम सञ्चालनका अनुभव तथा स्थानीयस्तरमै रोजगारी सिर्जनाका सम्भावनाबारे सहभागीबीच अनुभव आदान–प्रदान गराउनु रहेको हो।

उहाँले सुरक्षित वैदेशिक रोजगारीका लागि आवश्यक सीप, दक्षता र नेपाल सरकारले तोकेका कानुनी प्रक्रिया पूरा गरेर मात्रै विदेश जानुपर्ने सन्देश दिनुका साथै, स्वदेशमै उपलब्ध अवसरको सदुपयोग गरी उद्यमशीलतामार्फत आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

कार्यक्रमको अध्यक्षता आप्रवासी सञ्जाल समूह शान्तिटोल आईपीएम कृषक पाठशालाका अध्यक्ष ख्यामबहादुर कार्कीले गर्नुभएको थियो।

अनुभव आदान–प्रदान सत्रमा कन्काई नगरपालिका पञ्चकन्या होमस्टे कृषक समूहका सचिव भानु खवास, सृजनशील आईपीएम समूहका अध्यक्ष तथा अगुवा कृषक रबिन भट्टराई, शिवसताक्षी नगरपालिकाका अगुवा कृषक इन्द्रप्रसाद सापकोटा तथा आईपीएम प्राविधिक एवं सहजकर्ता नारायणप्रसाद ढकाललगायतले आफ्नो संघर्ष, सफलता र उद्यमशील यात्राका अनुभव सहभागीहरूसँग साझा गर्नुभएको थियो।

वक्ताहरूले वैदेशिक रोजगारीबाट फर्किएपछि स्थानीयस्तरमै कृषि तथा अन्य उद्यममार्फत आत्मनिर्भर बन्न सकिने उदाहरण प्रस्तुत गर्दै सीप, मेहनत र उचित अवसरको सदुपयोग गरे स्वदेशमै सम्मानजनक आम्दानी गर्न सकिने धारणा राखेका थिए।

कार्यक्रममा सहभागीहरूले सफल व्यक्तिहरूको वास्तविक अनुभवबाट धेरै सकारात्मक सिकाइ प्राप्त भएको प्रतिक्रिया दिँदै यस्ता अन्तरक्रियात्मक कार्यक्रम समुदायस्तरमा नियमित रूपमा सञ्चालन गरिनुपर्ने आवश्यकता औँल्याएका छन्। सहभागीहरूको भनाइमा यस्ता कार्यक्रमले वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिलाई सुरक्षित आप्रवासनका विषयमा सचेत गराउनुका साथै स्वदेशमै उद्यम र स्वरोजगारतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0