काठमाडौं । राष्ट्रिय पात्रता तथा प्रवेश परीक्षा (नीट) को प्रश्नपत्र चुहावट प्रकरणको विरोधमा कक्रोच जनता पार्टी (सीजेपी) ले दिल्लीको जन्तर–मन्तरमा सञ्चालन गरिरहेको प्रदर्शन बिहीबार पनि जारी रहेको छ। सोमबारदेखि सुरु भएको प्रदर्शनमा बिहानैदेखि ठूलो संख्यामा प्रदर्शनकारी भेला भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
आन्दोलनलाई मध्यनजर गर्दै जन्तर–मन्तर क्षेत्रमा बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रदर्शन चर्किँदै गएपछि पश्चिम बंगालबाट २० कम्पनी अतिरिक्त प्रहरी बलसमेत दिल्लीमा खटाइएको छ।
सुरक्षा अवस्थालाई ध्यानमा राख्दै दिल्ली मेट्रो रेल कर्पोरेशनले राजीव चौक, मण्डी हाउस, सेन्ट्रल सेक्रेटरिएट र सर्वोच्च अदालतसहित १६ वटा मेट्रो स्टेशन बिहीबार बिहान ७:३० बजेदेखि अर्को सूचना नभएसम्म बन्द गरेको छ। बुधबार आन्दोलनकारी र प्रहरीबीच संसद मार्ग क्षेत्रमा भएको झडपपछि सुरक्षा व्यवस्था थप कडा पारिएको हो।
मेट्रो स्टेशन बन्द गर्ने निर्णयप्रति सीजेपीले तीव्र असन्तुष्टि जनाएको छ। सामाजिक सञ्जाल एक्समार्फत पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै शिक्षामन्त्री धर्मेन्द्र प्रधानलाई पदबाट हटाएर विवाद टुंग्याउन आग्रह गरेको छ। अर्को सन्देशमा पार्टीले मेट्रो स्टेशन बन्द गरेर आन्दोलन रोक्न नसकिने उल्लेख गर्दै जे गरे पनि मानिसहरू जन्तर–मन्तरमा पुगेर आन्दोलनमा सहभागी हुने दाबी गरेको छ।
स्टेशन बन्द गर्ने निर्णयबारे सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै सीजेपीले लेखेको छ, ‘यसको अर्थ के हो ? मोदीजी, सिधै धर्मेन्द्र प्रधानलाई पदबाट हटाइदिनुहोस् र यो विषय यहीँ टुंग्याउनुहोस्।’ सीजेपीले अर्को पोस्टमा भनेको छ, ‘मेट्रो स्टेशन बन्द गर्ने यो दैनिक नाटक किन ? जे गरे पनि मानिसहरू जन्तर–मन्तरमा आएर आन्दोलनमा सहभागी हुनेछन्।’
एक महिनाभन्दा बढी समयदेखि जारी आन्दोलनलाई समर्थन गर्न हजारौँ युवा जन्तर–मन्तर पुगेका छन्। पछिल्ला केही दिनयता प्रदर्शनकारी र प्रहरीबीच पटक–पटक झडप भएको छ। दिल्ली प्रहरीले दुई सहायक प्रहरी आयुक्त, एक निरीक्षक, एक हेड कन्स्टेबल र एक कन्स्टेबल गरी पाँच जना प्रहरी घाइते भएको जनाएको छ।
सीजेपीले आन्दोलनस्थल बाहिर पूर्ण रूपमा क्षतिग्रस्त कार राखिएको भन्दै दिल्ली प्रहरीको नियतमाथि प्रश्न उठाएको छ। पार्टीले सामाजिक सञ्जालमा कारका फुटेका सिसासहितका तस्बिर सार्वजनिक गर्दै शान्तिपूर्ण आन्दोलनकारीलाई दोषी देखाउने तयारी भइरहेको आरोप लगाएको छ। साथै आन्दोलनस्थल आसपास इन्टरनेट सेवा बन्द गरिएको दाबी गर्दै सरकार थप दमनकारी कदम चाल्ने तयारीमा रहेको आशंका पनि व्यक्त गरेको छ।
सीजेपीका प्रवक्ता सौरभ दासले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा आन्दोलनको मुख्य र अपरिवर्तनीय माग भएको उल्लेख गर्दै यो माग कुनै पनि अवस्थामा नत्यागिने बताएका छन्। उनले जलवायु अभियन्ता सोनम वाङचुकसँग निरन्तर संवाद भइरहेको र आन्दोलनलाई शान्तिपूर्ण रूपमा अघि बढाउने सहमति भएको जानकारी दिए।
उता, सोनम वाङचुकले केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहले आफूलाई भेटेर नीट प्रश्नपत्र चुहावट प्रकरणबारे संसदमा छलफल गर्न सरकार सकारात्मक रहेको आश्वासन दिएको बताएका छन्। आन्दोलनमा सहभागी विद्यार्थी तथा प्रदर्शनकारीमाथि कुनै कानुनी कारबाही नहुने स्पष्ट प्रतिबद्धता प्राप्त भएपछि मात्र आफूले अनिश्चितकालीन अनशन तोड्ने उनको भनाइ छ।
यसैबीच विपक्षी दलहरूले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाविना प्रश्नपत्र चुहावट प्रकरणमा निष्पक्ष संसदीय छलफल सम्भव नहुने अडान दोहोर्याएका छन्। कांग्रेस अध्यक्ष तथा राज्यसभाका विपक्षी नेता मल्लिकार्जुन खड्गेले शिक्षामन्त्रीले राजीनामा नदिएसम्म यस विषयमा सार्थक छलफल हुन नसक्ने बताएका छन्।












