काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबिएस प्रथम सेमेष्टरको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा सार्वजनिक भएको आरोप लागेको छ।

साउन ८ गते भएको परीक्षाको प्रश्नपत्र ‘एमबिएस फ्रस्ट सेम सेक्सन सी’ नामक ह्वाट्सएप समूहमा परीक्षा सुरु भएको करिब पाँच मिनेटमै साझा गरिएको भन्दै सामाजिक सञ्जालमा स्क्रिनसटहरू सार्वजनिक भएका हुन्। घटनापछि परीक्षाको गोपनीयता र विश्वसनीयतामाथि प्रश्न उठेको छ।

यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै व्यवस्थापन संकायको डीन कार्यालयले साइबर ब्युरोसँग आवश्यक छानबिन तथा दोषीमाथि कानुनी कारबाहीका लागि अनुरोध गरेको छ।

उता, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण महाशाखाले घटनाको सत्यतथ्य पत्ता लगाउन प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई सात कार्यदिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0