सुनसरी। सुनसरीको देवानगन्ज गाउँपालिका–४, कप्तानगन्जमा आइतबार राति भएको झडपमा प्रहरीको गोली लागेर ज्यान गुमाएका ओमप्रकाश मेहताका परिवारले सरकारसमक्ष ९ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन्।

मंगलबार मृतक मेहताको निवासमा पुगेका सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालसहित प्रशासन र सुरक्षा निकायको टोलीलाई पीडित परिवारले ज्ञापनपत्र हस्तान्तरण गरेको हो।

देवानगन्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताका अनुसार ज्ञापनपत्रमा सबैभन्दा पहिलो मागका रूपमा मृतक ओमप्रकाश मेहतालाई तत्काल सहिद घोषणा गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरिएको छ।

त्यस्तै, घटनामा गम्भीर घाइते भई विराटनगरका न्युरो अस्पताललगायत विभिन्न अस्पतालमा उपचाररत जयप्रकाश मेहता, रविन महतोसहित अन्य घाइतेहरूको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्ने सुनिश्चितता गर्न पनि माग गरिएको छ।

पीडित पक्षले घटनामा संलग्न रहेको आरोप लगाउँदै केही स्थानीय व्यक्तिको नाम किटान गरी आवश्यक अनुसन्धान र कानुनी कारबाही गर्न माग गरेको छ। ज्ञापनपत्रमा इलाका प्रहरी कार्यालय देवानगन्जका इन्चार्ज इन्स्पेक्टर राकेश राईलाई भ्रामक सूचना दिएर घटनास्थलमा बोलाइएको तथा उनले पर्याप्त सोधपुछ नगरी लाठीचार्ज गरेपछि अवस्था थप तनावग्रस्त बनेको उल्लेख गरिएको छ।

साथै, झडपका क्रममा घाइते भएका इन्स्पेक्टर राईको उक्साहटमा सशस्त्र प्रहरीले ताकेर गोली चलाएको आरोप लगाउँदै घटनामा संलग्न प्रहरी तथा सुरक्षा अधिकारीमाथि निष्पक्ष छानबिन गरी कडा कारबाही गर्न माग गरिएको छ।

ज्ञापनपत्रमा घटनाको दिन साँझ ८ बजेदेखि पटक–पटक विद्युत् आपूर्ति अवरुद्ध भएको उल्लेख गर्दै नेपाल विद्युत् प्राधिकरणका ड्युटी कर्मचारी तथा घटनासँग सम्बन्धित व्यक्तिहरूको मोबाइल कल विवरण (कल डिटेल) परीक्षण गरी सत्यतथ्य छानबिन गर्नुपर्ने माग पनि गरिएको छ।

पीडित परिवारले १५ दिनअघिदेखि नै स्थानीय वातावरण असहज बन्दै जाँदा पनि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन नसकेको तथा सीमापारि हुने अवैध तस्करीसँग जोडिएको आर्थिक प्रभावका कारण सुरक्षा निकायले एकपक्षीय व्यवहार गरेको आरोप लगाउँदै सम्बन्धित प्रहरी अधिकारीमाथि कारबाहीको माग गरेका छन्।

यस्तै, स्थानीय क्षेत्रमा शंकास्पद गतिविधि, अवैध हातहतियार तथा अपरिचित व्यक्तिको आवतजावत नियन्त्रण गर्न प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन पनि सरकारसँग आग्रह गरिएको छ।

प्रहरी र स्थानीय प्रशासनको गैरजिम्मेवारपूर्ण भूमिकाका कारण उत्पन्न आक्रोशपछि भएको प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीको जिम्मेवारी सरकारले लिनुपर्ने तथा आन्दोलनमा सहभागी स्थानीयविरुद्ध झूटा मुद्दा नलगाउने प्रतिबद्धता जनाउन पनि ज्ञापनपत्रमार्फत माग गरिएको छ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले पीडित परिवारका मागप्रति प्रशासन सकारात्मक रहेको बताउँदै घटनाको निष्पक्ष छानबिन, सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम राख्नु वर्तमान प्राथमिकता रहेको प्रतिक्रिया दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0