जनकपुरधाम । सर्लाही जिल्ला सुरक्षा समितिले भारतबाट सीमा नाका हुँदै नेपाल प्रवेश गर्ने सबै यात्रुलाई आधिकारिक परिचय खुल्ने परिचयपत्र अनिवार्य रूपमा देखाएर मात्र प्रवेश गर्न दिने निर्णय गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार जिल्लाको शान्ति–सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै सीमा नाकामा निगरानी र जाँचलाई थप प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको हो।
निर्णयअनुसार अब भारतबाट सर्लाहीका सीमा नाका हुँदै नेपाल प्रवेश गर्ने सबै यात्रुले नागरिकता, राहदानी, मतदाता परिचयपत्र वा अन्य आधिकारिक परिचय खुल्ने कागजात प्रस्तुत गरेपछि मात्रै नेपाल प्रवेश गर्न पाउनेछन्।
यसैबीच, बिहीबार साँझसम्म जिल्लाको समग्र शान्ति–सुरक्षा अवस्था सामान्य रहेको भए पनि शुक्रबार सदरमुकाम मलंगवामा बजार बन्द गराइएको छ। विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् भने सुरक्षा निकायले अवस्था निगरानीमा राखेको जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार प्रशासनले पछिल्ला दिनहरूमा विजय जुलुसलगायतका कार्यक्रमलाई लक्षित गर्दै विभिन्न धार्मिक समुदायका प्रतिनिधिसँग नियमित संवाद गरिरहेको छ। धार्मिक समुदायका प्रतिनिधिहरूले पनि जिल्लामा शान्ति र सद्भाव कायम राख्न आ–आफ्नो तर्फबाट प्रतिबद्धता व्यक्त गरेको उनले बताए।
उनका अनुसार जिल्लामा सद्भाव र्याली आयोजना गर्ने विषयमा समेत पहल भइरहेको छ। त्यसका लागि शुक्रबार अपराह्न ४ बजे सम्बन्धित पक्षहरूसँग थप छलफल गर्न बैठक बोलाइएको जानकारी उनले प्रशासनलाई दिए।
प्रशासनले नागरिकलाई अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न र कुनै पनि शंकास्पद गतिविधिबारे तत्काल सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरेको छ। साथै, जिल्लाको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै आवश्यक सतर्कता र निगरानीलाई निरन्तरता दिइएको जनाएको छ।












