शिवसताक्षी। शिवसताक्षी नगरपालिका–६ को ज्येष्ठ नागरिक समितिको अध्यक्षमा चक्र लुईटेल पुनः सर्वसम्मत चयन भएका छन्।

शुक्रबार वडा नं. ६ स्थित ज्येष्ठ नागरिक भवनमा सम्पन्न समितिको १५औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनले लुईटेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षद्वयमा दीपक बुढाथोकी र रमादेवी लुईटेल, सचिवमा पदम खड्का, सह–सचिवमा चन्द्र घिमिरे तथा कोषाध्यक्षमा सोमनाथ न्यौपाने चयन भएका निर्वाचन समितिले जनाएको छ।

त्यसैगरी सदस्यहरूमा गोपाल न्यौपाने, चम्पा वि.क., लोकबहादुर पौडेल, तोयाकुमारी आचार्य र धनमाया बुढाथोकी चयन भएका छन्।

साधारण सभामा अध्यक्ष चन्द्रप्रसाद लुईटेलले सञ्चालक समितिको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव पदम खड्काले आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय विवरण सार्वजनिक गरेका थिए। प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार समितिले आर्थिक वर्षभरि रु. ८० हजार ९०९ आम्दानी गरेको तथा रु. ६३ हजार ७१४ खर्च गरेको जानकारी दिइएको थियो।

कार्यक्रमका प्रमुख अतिथि एवं वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले ज्येष्ठ नागरिकको सम्मान, संरक्षण र सक्रिय सहभागितालाई वडाले उच्च प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले अग्रजहरूको ज्ञान, अनुभव र सुझाव स्थानीय विकासका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि ज्येष्ठ नागरिकको आवश्यकता र चाहनाअनुसार कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।

वडाध्यक्ष कार्कीले वडाको रु. १० लाख बजेट तथा सहारा नेपालको सहयोगमा ज्येष्ठ नागरिक भवन निर्माण सम्पन्न गरिएको जानकारी दिँदै भवनलाई ज्येष्ठ नागरिकहरूको दैनिक भेटघाट, मनोरञ्जन, सामाजिक गतिविधि तथा परम्परागत सीप–कला जोगाउने केन्द्रका रूपमा विकास गरिने बताए। उनले भवनमा ज्येष्ठ नागरिकले दिउँसोको समय सिर्जनात्मक र रमाइलो ढंगले बिताउन सक्ने वातावरण तयार गरिएको पनि उल्लेख गरे।

कार्यक्रममा वडा सदस्य गोमा रिजाल, सहारा नेपाल सेवा केन्द्रका संयोजक विमल बस्नेत, ज्येष्ठ नागरिक नगर समिति अध्यक्ष अम्बिका अधिकारी तथा समाजसेवी विष्णुप्रसाद खतिवडालगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए। कार्यक्रमको सञ्चालन लोकबहादुर रोक्काले गरेका थिए।साधारण सभामा ज्येष्ठ नागरिक नगर समितिले बृद्ध बृद्धाहरुलाई खिर खुवाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0