काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियत र इमानदारीमाथि कुनै प्रश्न नरहे पनि राज्य सञ्चालनको कार्यशैली र ढंग भने नपुगेको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले यो यथार्थतालाई स्वीकार गर्नुपर्ने बताएका छन्।
लोकतन्त्र र राज्यप्रणालीको संरक्षणका लागि अहिलेको परिस्थितिमा विशेष मूल मन्त्रको आवश्यकता औंल्याउँदै सांसद झाकले भनें, ‘राज्यप्रणालीमा, राज्य सञ्चालनमा, संविधान र लोकतन्त्रको संरक्षणमा के मूल मन्त्र आवश्यक छ भनेर हेर्दा राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वास हो। यो दुवै कुरालाई केन्द्रित गरेर अगाडि बढ्न सक्यौं भने मात्रै केही हासिल गर्न सकिन्छ।’
सांसद झाले आफूलाई के थाहा छैन भन्ने कुराको बोध हुनुपर्ने बताए। उनले भने, ‘इफ यु डन्ट नो, ह्वाट यु डन्ट नो, देम यु डन्ट रियल्ली नो, ह्वाट यु डन्ट नो ।’
गुगलका सीईओको विचारलाई स्मरण गराउँदै सांसद झाले आफूलाई के थाहा छैन भन्ने कुराको बोध हुनुपर्ने बताए। उनले भने, ‘जुन दिन आफूलाई सबै चिज थाहा छ भन्ने लाग्छ, त्यो दिन त्यस्तो सोच्ने व्यक्ति मृत्यु समान हुन्छ।’
सांसद झाले नेपालको दिगोपनमा मधेस, प्रवास र निजी क्षेत्रको ठूलो योगदान रहेको उल्लेख गर्दै तिनै क्षेत्रहरू अहिले असुरक्षित बन्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण गराए। मधेसको पछिल्लो परिस्थितिलाई इङ्गित गर्दै उनले भने, ‘मधेसको बोर्डरमा २५ रुपैयाँको चिप्स खोसिन्छ, तर यता एयरपोर्टमा ब्लु लेबल र ल्यापटप सहजै ल्याउन दिइएको छ। बोर्डरबाट आउने गरिबलाई एउटा व्यवहार र एयरपोर्टबाट आउने धनीलाई अर्को व्यवहार किन ?” सरकारको यो असन्तुलित व्यवहारप्रति जनताले प्रश्न उठाउन थालेको उनले बताए।
देशमा आर्थिक समृद्धि मात्र नभएर संस्कार र सभ्यता पनि उत्तिकै आवश्यक रहेको औंल्याउँदै उनले सवारी साधनबाट कालो सिसा र स्टिकर हटेझैं अब शासकहरूको सोचमा रहेको ‘कालो चस्मा’ पनि हटाउनुपर्ने बेला आएको बताए।
निजी क्षेत्र अहिले पनि त्रसित अवस्थामा रहेको बताउँदै सांसद झाले नागरिकले प्रहरी देख्दा सुरक्षाको अनुभूत गर्नुपर्नेमा कुन बेला छापा मार्ला वा धरपकड गर्ला भनेर तर्सिनुपर्ने अवस्था रहेको बताए। अर्थ मन्त्रालयबाट केही प्रयासहरू भए पनि ती कागजमा मात्रै सीमित भएको भन्दै उनले बैंकमा थुप्रिएको पैसा लगानी गर्ने वातावरण बनाउन र निजी क्षेत्रलाई पूर्ण आत्मविश्वास दिन सरकारसँग माग गरे।












