• गोपाल काफ्ले

झापा । नेपालको सहकारी अभियान हालका वर्षहरूमा एउटा अभूतपूर्व विरोधाभासपूर्ण वित्तीय मोडबाट गुज्रिरहेको छ। एकातिर सञ्चालन जोखिम, सञ्चालकहरूको बदमासी र कमजोर व्यवस्थापनका कारण केही समस्याग्रस्त सहकारीहरूले समग्र क्षेत्रप्रतिको जनविश्वास डगमगाएका छन् भने, अर्कोतिर सुशासित, व्यवस्थित र स्थापित प्रारम्भिक सहकारी संस्थाहरूका साथै राष्ट्रिय सहकारी बैंकमा भने सर्वसाधारण र सदस्यहरूको निक्षेप तीव्र रूपमा थुप्रिँदै गएको छ। तर, यसरी संकलित अर्बौ रुपैयाँ निक्षेपलाई सुरक्षित र उत्पादनशील क्षेत्रमा लगानी गर्न नसक्दा सहकारी क्षेत्र ‘अधिक तरलता’ (Excess Liquidity) को नौलो सकससँग जुधिरहेको छ।

वित्तीय संस्थाको स्वास्थ्य मापन गर्ने अन्तर्राष्ट्रिय मान्यताप्राप्त औजार ‘पल्स’ (PEARLS) प्रणालीका आधारमा विश्लेषण गर्दा, हाल नेपालका प्रमुख सहकारी संस्थाहरूमा तरलताको अनुपात आवश्यक मापदण्डभन्दा निकै उच्च देखिएको छ। सामाजिक सञ्जालमा अपलोड गरेको २०८३ असार मसान्तसम्मको अन्तिम लेखापरीक्षण अगाडिको अपरिस्कृत वित्तीय विवरणलाई आधार मान्दा नेपालकै अग्रणी सहकारीहरू र राष्ट्रिय सहकारी बैंकको स्थितिले सहकारी क्षेत्रको वर्तमान सकस, लगानीको खडेरी र त्यसले बचतकर्ताको प्रतिफलमा पारेको असरलाई प्रस्ट रूपमा उजागर गरेको छ ।

१. वित्तीय विवरणको तथ्यगत ऐना: बचत र तरलताको वर्तमान स्थिति

सामाजिक सञ्जालमा उपलब्ध नेपालका ५ वटा प्रारम्भिक सहकारी संस्था र राष्ट्रिय सहकारी बैंकको असार मसान्तको अपरिस्कृत वित्तीय तथ्याङ्कले संस्थागत दायरा विशाल भएको तर लगानी सुस्त बनेको देखाउँछ ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि., बिर्तामोडझापा

सदस्य संख्या, सेवा सुबिधा अनि वित्तीय तथ्यांकका आधारमा नेपालको सबैभन्दा ठूलो सहकारी संस्था सहारा नेपाल सकोसको शेयर पुँजी १ अर्ब ७० करोड ७४ लाख १२ हजार २०० रुपैया र जगेडा कोष १ अर्ब ३६ करोड ७६ लाख ३५ हजार ४२७ रुपैया पुगेको छ। कुल १ लाख ९८ हजार ९०८ सदस्य रहेको सो संस्थामा १५ अर्ब ५० करोड ९३ लाख ९७ हजार १०० रुपैया निक्षेप बचत संकलन छ ।

संस्थाको लगानीमा रहेको ऋण १२ अर्ब ८५ करोड ७ लाख ५९ हजार ४६९ रुपैया छ भने संस्थासँग ५ अर्ब ३० करोड ९२ लाख ४३ हजार ३२५ रुपैया नगद तरलता छ, जुन कुल बचतको ३४.२३ प्रतिशत हुन आउँछ। संस्थामा ऋणी सदस्यको संख्या ६४ हजार ८१४ छ । वित्तीय संस्थाको स्वास्थ्य मापन गर्ने अन्तर्राष्ट्रिय मान्यताप्राप्त औजार ‘पल्स’ (PEARLS) प्रणालीका आधारमा विश्लेषण गर्दा यो तरलता अत्याधिक हो । तरलता १० प्रतिशतभन्दा कम हुनु जोखिमपूर्ण मानिन्छ भने १५ प्रतिशतभन्दा माथि जानुलाई निष्कृय पुँजीको व्यवस्थापकीय भारका रूपमा हेरिन्छ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि., काँकरभिट्टाझापा :

नेपालकै दोश्रो ठूलो सहकारीको रुपमा परिचित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. एनएमसी पनि अत्याधिक तरलताको मारमा छ । १ लाख ७३ हजार ८७७ सदस्य रहेको एनएमसीमा केवल १७ हजार ३५५  जनामात्रै ऋणीहरु छन् ।

२०८३ असार मसान्तसम्मको अन्तिम लेखापरीक्षण अगाडिको अपरिस्कृत वित्तीय विवरण अनुसार एनएमसीको शेयर पुँजी १ अर्ब ४४ करोड ३३ लाख ६९ हजार ३०० रुपैया रहेको छ भने जगेडा कोषमा ८८ करोड २६ लाख ९४ हजार ४९४ मौज्दात छ।

संस्थाको कुल बचत १२ अर्ब ३३ करोड ४९ लाख ३५ हजार ३२९ रुपैया पुगेको छ । तर ऋण लगानी भने ११ अर्ब ७७ करोड ४ लाख ९५ हजार ८९ रुपैया मात्रै रहेकाले संस्थामा नगद तथा बैंक मौज्दात ३ अर्ब ५३ करोड ५८ लाख ८० हजार ९४६ रुपैया रहेको छ, जसको तरलता अनुपात २८.६७ प्रतिशत देखिन्छ ।

संस्थामा ऋणको माग पर्याप्त नआउनु, ऋण माग गर्ने कतिपय सदस्यको वित्तीय कारोबारको पृष्ठभूमि राम्रो नहुनु आदि कारणले ऋण लगानी वृद्धि हुन नसकेको बताइएको छ । संस्थाले अघिल्लो आर्थिक बर्षमा पनि सदस्यलाई बोनस दिन नसकेको कारण आलोचित बनेको थियो । अहिलेको तरलताको पहाडले पुनः सोहि आवृत्ति दोहोरिने अवस्था छ ।

 कर्णाली बचत तथा ऋण सहकारी संस्था लि., बिर्तामोड, झापा :

२०८३ असार मसान्तसम्मको अन्तिम लेखापरीक्षण अगाडिको अपरिस्कृत वित्तीय विवरण अनुसार कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ६६ हजार २१९ सदस्य रहेका छन् । सो अवधिमा कर्णालीको शेयर पुँजी ६० करोड ९१ लाख ६४ हजार ३०० रुपैया र जगेडा कोषमा १६ करोड ९८ लाख ४० हजार ७२३ रुपैया पुगेको छ । कुल बचत ४ अर्ब २१ करोडभन्दा बढी रहेको संस्थाको ऋण लगानी ४ अर्ब ४० करोड ९ लाख १२ हजार ५० रुपैया भएको देखिन्छ ।

सो संस्थामा पनि ८८ करोड ४६ लाख २७ हजार ६६६ रुपैया तरलता रकम छ, जसको अनुपात २१ प्रतिशत हुन आउँछ। ३८ वटा सेवाकेन्द्र मार्फत सेवा प्रवाह गरिरहेको यो संस्थामा रहेको तरलताको अनुपातले पनि संस्थागत दायरा विशाल भएको तर लगानी सुस्त बनेको देखाउँछ ।

मेची बहुउद्देश्यीय सहकारी संस्था लि. दमक, झापा :

तुलनात्मक रुपमा थोरै सदस्य तर उत्कृस्ठ सेवा र कारोबार गरिरहेको मेची बहुउद्देश्यीयको शेयर पुँजी ४० करोड ८३ लाख ६९ हजार ४०० रुपैया र जगेडा कोष  २३ करोड ७० लाख ४३ हजार ७४८ रुपैया छ। संस्थामा ४ अर्ब १५ करोड १ लाख ८३ हजार २६९ रुपैया निक्षेप बचत संकलन हुँदा कर्जा लगानी ३ अर्ब ७९ करोड ५७ लाख ८१ हजार ११४ रुपैया मात्रै रहेको छ। कुल सम्पत्ति ५ अर्ब २ करोड २९ लाख ९० हजार ४८५ रहेको यस संस्थाको तरलता रकम ८५ करोड ७५ लख ६९ हजार ४६० रहेको देखिन्छ। १३ वटा कार्यालय र ११९ कर्मचारीमार्फत १९ हजार ७२३ सदस्यलाई सेवा दिइरहेको यस संस्थाको तरलताको रकम हेर्दा सदस्यलाई बोनस र नाफा भन्दा पनि ब्याज दिन धौ धौ परेको आंकलन गर्न सकिन्छ ।

सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड, झापा :

कोशी प्रदेशका झापा, इलाम, पाँचथर र मोरङ जिल्लामा ४४ वटा सेवाकेन्द्र मार्फत  ७१ हजार २२८ सदस्यलाई सेवा दिइरहेको सिम्रिक सकोसको शेयर पुँजी  ३७ करोड ३९ लाख ४ हजार ५०० रुपैया र जगेडा कोषमा ८ करोड ८५ लाख ८६ हजार ४१८ रुपैया छ।

करिब २१ प्रतिसत् अर्थात् १५ हजार ३६ मात्रै ऋणी सदस्य रहेको यस संस्थाको निक्षेप रकम २ अर्ब ५६ करोड ९० लाख ७० हजार ८०४ रुपैया रहेपनि ऋण लगानी रकम  २ अर्ब ९२ करोड ५० लाख ५४ हजार ९०१ रुपैया छ। कुल बासलात ३ अर्ब ६६ करोड ३४ लाख रहेको सिम्रिकको तरलता अनुपात १८.१९ प्रतिशत छ । विश्लेषण गरिएका अन्य सहकारीको तुलनामा तरलता अनुपात सिम्रिकमा थोरै रहेको छ । तर असार मसान्तको अपरिस्कृत वित्तीय तथ्याङ्कले संस्थागत दायरा विशाल भएको तर लगानी सुस्त बनेको देखाउँछ ।

राष्ट्रिय सहकारी बैंक लि., ललितपुर :

देशैभरिका १६ हजार ५३५ प्रारम्भिक सहकारी संघ/संस्थाहरू सदस्य रहेको सहकारी क्षेत्रको एकमात्र बैंकको शेयर पुँजी २ अर्ब ९३ करोड ९३ लाख ५१ हजारभन्दा बढी र जगेडा कोष १ अर्ब ४७ करोड ३१ लाख ४२ हजारभन्दा बढी छ।

बैंकमा कुल निक्षेप बचत ४६ अर्ब १५ करोड ८३ लाख २३ हजारभन्दा बढी थुप्रिएको छ भने ऋण लगानी १५ अर्ब ६३ करोड २५ लाख ७९ हजार र ऋणी संख्या १ हजार ५१३ मात्र कायम हुन सकेको देखिन्छ । कुल सम्पत्ति ५८ अर्ब ३१ करोड ८२ लाख ७२ हजार रहेको बैंकसँग ३९ अर्ब ९८ करोडभन्दा बढी नगद तरलता रकम छ।

नेपाल राष्ट्र बैंकको गणना विधि अनुसार बैंकको तरलता प्रतिशत ६९.३० प्रतिशतको उच्च विन्दुमा पुगेको छ।

२. पल्स (PEARLS) प्रणालीको दृष्टिकोण र उच्च तरलताको गम्भीर विश्लेषण

सहकारी संस्थाहरूको सञ्चालन र वित्तीय मजबूती मापन गर्न प्रयोग गरिने अन्तर्राष्ट्रिय प्रणाली पल्स (PEARLS) मा ‘L’ (Liquidity / तरलता)ले कुल सम्पत्ति वा कुल बचतको तुलनामा संस्थासँग रहेको नगद र बैंक मौज्दातको अनुपातलाई जनाउँछ। पल्सको आदर्श मापदण्डअनुसार कुनै पनि बचत तथा ऋण सहकारीमा तरलता अनुपात १० देखि १५ प्रतिशतसम्म हुनुलाई सन्तुलित र स्वस्थ मानिन्छ। तरलता १० प्रतिशतभन्दा कम हुनु जोखिमपूर्ण मानिन्छ भने १५ प्रतिशतभन्दा माथि जानुलाई निष्कृय पुँजीको व्यवस्थापकीय भारका रूपमा हेरिन्छ।

उपरोक्त तथ्याङ्कलाई पल्सको कसिमा ढालेर हेर्दा बिष्लेषण गरिएका सहकारी एवं सिंगो सहकारी क्षेत्रमा देहाय बमोजिमका गम्भीर प्राविधिक तथा आर्थिक विश्लेषणात्मक निष्कर्षहरू निस्कन्छन् ।

क) ‘आइडल मनी’ (निष्क्रिय पुँजी) र पुँजीको लागत (Cost of Funds) को भार:

सहकारीको व्यावसायिक सिद्धान्तअनुसार बचतकर्ताबाट संकलित रकममा संस्थाले निश्चित दरमा ब्याज भुक्तानी गर्नैपर्छ। उदाहरणका लागि, सहारा नेपाल साकोसमा ३४.२३% (५ अर्ब ३० करोडभन्दा बढी) र राष्ट्रिय सहकारी बैंकमा ६९.३०% (३९ अर्ब ९८ करोडभन्दा बढी) रकम तरलताका रूपमा नगद वा बैंक खातामा थुप्रिएर बसेको छ।

यसरी संस्थामा ‘आइडल’ (निष्क्रिय) भएर बस्ने पुँजीले संस्थालाई कुनै प्रत्यक्ष आम्दानी दिँदैन । सामान्यतया वाणिज्य बैंकको साधारण बचतमा पाइने न्यून ब्याज मात्र दिन्छ । तर, अर्कोतर्फ संस्थाले बचतकर्तालाई दिने प्रतिवद्धता अनुसारको ब्याज निरन्तर भुक्तानी गरिरहनुपर्छ। यसले फण्डिङ कस्ट’ (Cost of Funds) र स्प्रेड दर’ (Spread Rate) बीचको सन्तुलन बिगारेर संस्थाको सञ्चालन नाफा (Net Margin) मा सोझै प्रहार गरिरहेको देखिन्छ ।

ख) लगानीको खडेरी र बजारको आर्थिक शिथिलता:

सहकारीमा निक्षेप निरन्तर बढ्नु तर ऋण लगानी हुन नसक्नुका पछाडि समग्र मुलुकको आर्थिक मन्दी जिम्मेवार छ।

घरजग्गा र व्यापारमा मन्दी:  विगतमा सहकारीको ठूलो कर्जा प्रवाह हुने घरजग्गा कारोबार, व्यापार-व्यवसाय र आयात क्षेत्र सुस्त छ।

सुरक्षित ऋणीको अभाव:  बजारमा नयाँ व्यवसाय सुरु गर्ने वातावरण नहुँदा साँचो अर्थमा कर्जा सदुपयोग गर्न सक्ने सुरक्षित ऋणीहरूको माग घटेको छ।

जोखिम मोल्न नसक्ने स्थिति:  भाखा नाघेको कर्जा (Non-Performing Loans) बढ्ने डरले सहकारीका सञ्चालक तथा व्यवस्थापकहरू नयाँ कर्जा स्वीकृतिमा अत्यन्तै रक्षात्मक र सतर्क बनेका छन् । जसले गर्दा बजारमा कर्जा प्रवाह हुन सकिरहेको छैन।

ग) बचतकर्ताको प्रतिफल (ब्याजदर)मा प्रत्यक्ष गिरावट:

सहकारीमा थुप्रिएको तरलता र लगानी हुन नसकेको पुँजीको सोझो मार सर्वसाधारण बचतकर्तामा परेको छ। जब संस्थामा निष्कृय पुँजीको भार बढ्छ, संस्थाले आफ्नो पुँजीको लागत घटाउन बचतको ब्याजदर घटाउनुको विकल्प रहँदैन। विगतमा ८ देखि १२ प्रतिशतसम्म ब्याज पाइरहेका साधारण बचतकर्ताहरू अहिले ३ देखि ६ प्रतिशतको न्यून ब्याजदरमा चित्त बुझाउन बाध्य छन्। लगानी हुन नसकेकै कारण बचतकर्ताले आफ्नो मेहनतको कमाइमा पाउने प्रतिफल घटेको छ, जसले बचतकर्ताको वास्तविक क्रयशक्तिमा समेत ह्रास ल्याएको छ।

घ) प्रारम्भिक संस्था र सहकारी बैंकबीचको चक्रिय तरलता (Cascading Liquidity):

राष्ट्रिय सहकारी बैंकको ६९.३० प्रतिशतको अस्वाभाविक तरलताले सहकारी क्षेत्रभित्रको अर्को जटिलता देखाउँछ। प्रारम्भिक सहकारी संस्थाहरू (जस्तै सहारा, एनएमसी, सिम्रिक आदि)ले आफूसँग बढी भएको तरलता सुरक्षाका लागि राष्ट्रिय सहकारी बैंकमा निक्षेपका रूपमा राख्छन्। तर, राष्ट्रिय सहकारी बैंक आफैंले पनि त्यो रकम प्रारम्भिक संस्थाहरूमा कर्जाका रूपमा लगानी गर्न सकिरहेको छैन। फलस्वरूप, प्रारम्भिक संस्थाको निष्क्रिय पुँजी सहकारी बैंकमा पुगेर झनै ठूलो पहाड बनेर बसेको छ, जसले समग्र सहकारी प्रणालीलाई नै ‘अतिरिक्त तरलताको चक्रव्यूह’ मा पारेको छ।

३. निष्कर्ष तथा भावी कार्यदिशा: तरलतालाई उत्पादनमा बदल्ने चुनौती

२०८३ असार मसान्तको अपरिस्कृत वित्तीय विवरणले नेपाली सहकारी क्षेत्रको एउटा सकारात्मक र अर्को चुनौतीपूर्ण पाटो उजागर गरेको छ। सुशासित सहकारी संस्थाहरूमा सर्वसाधारणको अटुट विश्वास कायम हुनु र अर्बौ निक्षेप संकलन हुनु सहकारी अभियानको ठूलो सफलता हो। तर, त्यो संकलित पुँजीलाई ‘सक्रिय र उत्पादनशील’ बनाउन नसक्नु संस्थागत दक्षता र समग्र अर्थतन्त्रको कमजोरी हो।

पल्स मापदण्डभन्दा दोब्बर-तेब्बर बढी तरलता बोकेर बस्नु कुनै पनि वित्तीय संस्थाका लागि दीर्घकालीन रूपमा लाभदायक हुन सक्दैन। यदि यो स्थिति लम्बिँदै गएमा संस्थाहरूको नाफा घट्दै जाने, सञ्चित कोषहरूमा योगदान पुर्याउन नसकिने र अन्ततः बचतकर्ताको प्रतिफल अझै खुम्चिने खतरा रहन्छ।

आगामी दिनका लागि सुझाइएका रणनीतिक कदमहरू:

१. उत्पादनशील र SME क्षेत्रमा कर्जा केन्द्रीकृत: परम्परागत घरजग्गा वा उपभोग्य कर्जाको साटो कृषि, साना तथा मझौला उद्यम (SME), नवप्रवर्तन र स्थानीय उत्पादनका क्षेत्रमा जोखिम मूल्याङ्कन (Risk Assessment) गरी कर्जा विस्तार गर्नुपर्छ।

२. व्यावसायिक क्षमता अभिवृद्धि: ऋणीहरूको व्यावसायिक योजना विश्लेषण गरेर साना उद्यमी निर्माण गर्नेतर्फ संस्थाहरूले ध्यान दिनुपर्छ ताकि कर्जाको माग प्राकृतिकरूपमा सिर्जना हुन सकोस्।

३. सन्तुलित तरलता व्यवस्थापन: पल्सको १०-१५% को मापदण्डभित्र रहेर तरलता व्यवस्थापन गर्न निक्षेपको संरचना (बचतको प्रकार र अवधि) मा पुनरावलोकन गरिनुपर्छ।

अत: बचतको ठूलो पहाडमाथि उभिएका सहकारी संस्थाहरूले अब सुरक्षित लगानीका नयाँ ढोकाहरू नखोल्ने हो भने तरलताको यो ‘उच्च प्रतिशत’ सफलताको सूचक मात्र नरहेर वित्तीय भारको प्रमुख कारण बन्ने निश्चित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0