शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–१ स्थित धरमपुर बजारमा स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले खेल सामग्री वितरण गरिएको छ।
उर्जाशिल व्यक्तित्व स्थानीय समाजसेवी दुर्गा नेम्वाङले स्थानीय साना खेलाडी भाइबहिनीहरूलाई खेलकुदप्रति थप उत्साहित बनाउने उद्देश्यले १३ थान फुटबल र ३ थान भलिबल वितरण गर्नुभएको हो।
एक कार्यक्रमका बीच नेम्वाङले फूलबारी एफसी, धरमपुर भलिबल टिम, चर्चावारी फुटबल एफसी, श्रीलक्ष्मी नारायण माध्यमिक विद्यालय फुटबल टिम, श्रीलक्ष्मी नारायण माध्यमिक विद्यालय भलिबल टिम, तिनकुने फुटबल टिम र डाँडागाउँ एफसीलाई खेल सामग्री हस्तान्तरण गर्नुभएको थियो।

खेल सामग्री वितरण गर्दै नेम्वाङले ग्रामीण तथा स्थानीय क्षेत्रमा रहेका प्रतिभाशाली खेलाडीलाई आवश्यक सामग्रीको अभाव हुन नदिन आफूले सकेको सहयोग गर्दै आएको बताउनुभयो। उहाँले खेलकुदले बालबालिका तथा युवालाई अनुशासित, स्वस्थ र सकारात्मक बाटोमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले स्थानीय स्तरबाटै खेलाडीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो।
खेल सामग्री पाएपछि स्थानीय खेलाडी तथा टिमका प्रतिनिधिहरूले आफूहरूलाई खेलकुदमा अघि बढ्न थप हौसला मिलेको बताएका छन्। स्थानीय स्तरमा हुने यस्ता सहयोगले खेलाडीको प्रतिभा पहिचान तथा विकासमा महत्वपूर्ण योगदान पुग्ने उनीहरूको भनाइ छ। समाजसेवी नेम्वाङ्गले यस अघि पनि खेलाडीहरुलाई १८ थान जर्सी र फुटबल प्रदान गर्नुभएको थियो ।












