शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीका लागि आयोजना गरिएको सार्वजनिक खरिद ऐन तथा नियमावलीसम्बन्धी चारदिने अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ।
नगरपालिकाको कार्यालयमा सोमबारदेखि सुरु भएको अभिमुखीकरणमा सार्वजनिक खरिद प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी, कानुनसम्मत र प्रभावकारी बनाउने विषयमा प्रशिक्षण दिइएको थियो।
अभिमुखीकरणमा सार्वजनिक खरिदका विविध पक्ष, खरिदका प्रकार तथा विधि, खरिदका लागि आवश्यक समिति, इकाइ तथा शाखाको भूमिका, रणनीतिक खरिद योजना, प्राविधिक विवरण तयार गर्ने प्रक्रिया, कार्यक्षेत्र तथा शर्त निर्धारण, लागत अनुमान तयार गर्ने विधि, लागत अनुमान सार्वजनिक गर्ने व्यवस्था, बोलपत्र आह्वान तथा मूल्याङ्कन, दरभाउपत्रलगायत सार्वजनिक खरिदसँग सम्बन्धित कानुनी तथा व्यावहारिक विषयमा सहभागीलाई जानकारी गराइएको थियो।
कार्यक्रमको समापनमा नगरप्रमुख मेगाहाङ्ग थोप्राले सरकारले समय–समयमा ऐन, नियम तथा कार्यविधि संशोधन गर्दै लैजाने भएकाले कर्मचारीको क्षमता अभिवृद्धि गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको बताउनुभयो।
उहाँले नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्दा कर्मचारीले सरकारले तोकेका कानुन तथा नियमको सीमाभित्र रहेर काम गर्नुपर्ने बताउनुभयो। जनप्रतिनिधिभन्दा कानुनी हिसाबले कर्मचारी बढी जिम्मेवार हुने भएकाले यस्ता कार्यक्रमको महत्व अझ बढी रहेको उहाँको भनाइ थियो।
“जनप्रतिनिधि जनताको सेवा र भावनासँग जोडिएका हुन्छन्। तर कर्मचारीले भावनाभन्दा कानुनलाई आधार बनाएर कामलाई छिटो, चुस्त र प्रभावकारी बनाउनुपर्ने हुन्छ,” नगरप्रमुख थोप्राले भन्नुभयो।
जनप्रतिनिधिलाई सफल बनाउन कर्मचारीको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले संशोधित ऐन, नियम तथा कार्यविधिको प्रभावकारी कार्यान्वयनका लागि अभिमुखीकरणले सहयोग पुग्ने बताउनुभयो।
अभिमुखीकरणमा सहभागीको तर्फबाट नगरपालिकाका इन्जिनियर कृष्ण राई र जनस्वास्थ्य निरीक्षक सारङ्गा तामाङले प्रशिक्षणबाट प्राप्त अनुभव तथा सिकाइबारे धारणा राख्नुभएको थियो।
समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेले अभिमुखीकरणले कर्मचारीलाई सार्वजनिक खरिद ऐन तथा नियमावलीलगायतका विषयमा काम गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो।
चारदिने कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, वडा सचिव तथा सार्वजनिक खरिदसम्बन्धी कार्यमा प्रत्यक्ष रूपमा संलग्न कर्मचारीहरूको सहभागिता रहेको थियो। सार्वजनिक खरिदका क्रममा देखिने कानुनी तथा प्रक्रियागत जटिलता न्यूनीकरण गर्दै खरिद प्रक्रियालाई कानुनसम्मत, पारदर्शी र प्रभावकारी बनाउन कार्यक्रम आयोजना गरिएको नगरपालिकाले जनाएको छ।
यसैबीच, अभिमुखीकरण कार्यक्रमको समापन अवसरमा अन्य स्थानीय तहबाट शिवसताक्षी नगरपालिकामा सरुवा भएर आएका सात जना कर्मचारीलाई स्वागत गरिएको छ।
नगरप्रमुख मेगाहाङ्ग थोप्रा, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफे, वडाध्यक्ष भवानी विक्रम चेम्जोङलगायतले नवआगन्तुक कर्मचारीलाई अविर तथा खादा लगाएर स्वागत गर्नुभएको थियो।
अन्य स्थानीय तहबाट कमला पाण्डे, दिक्षा भण्डारी, अमितकुमार यादव, महोमद उमर मन्सुर, कुलबहादुर बुढा, पूजा गिरी र सारङ्गा तामाङ शिवसताक्षी नगरपालिकामा सरुवा भएर आउनुभएको हो।
नगरपालिकाका अनुसार नयाँ कर्मचारीको आगमनसँगै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै कार्यालयको कार्यसम्पादनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
अभिमुखीकरणमा लक्ष्मण खतिवडा र नवानित तिवारीले सहजीकरण गर्नुभएको थियो भने समापन कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृत महेश लामिछानेले गर्नुभएको थियो।












