‘प्रहरीको इन्स्टिच्युसनल मेमोरीमा अपराध रहन्छ, अपराधीलाई जुनसुकै बेला समात्छौँ’

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले दशकौँ पुराना आपराधिक घटनामा संलग्न व्यक्ति पनि कानुनी कारबाहीबाट उम्कन नसक्ने बताएका छन्। प्रहरीले विगतका घटनालाई आफ्नो ‘इन्स्टिच्युसनल मेमोरी’का रूपमा सुरक्षित राख्ने भएकाले अपराधीलाई जुनसुकै बेला कानुनी दायरामा ल्याउन सकिने उनको भनाइ छ।

व्यक्तिको स्मरण समयसँगै हराउन सक्ने भए पनि प्रहरी संस्था न्यायका लागि निरन्तर काम गर्ने भएकाले पुराना घटनालाई नबिर्सने उनले बताए। पुराना चर्चित तथा जघन्य अपराधका घटनामा विशेष टोलीमार्फत अनुसन्धान भइरहेको र केही घटनामा सफलता पनि प्राप्त भएको उनले जानकारी दिए। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत पुराना जघन्य अपराधको अनुसन्धान जारी रहेको भन्दै कार्कीले नयाँ र पुराना मुद्दालाई सँगसँगै अघि बढाइरहेको बताए। यद्यपि, सबै पुराना घटनामा प्रहरीले अपेक्षाअनुसार सफलता हासिल गर्न नसकेको उनले स्वीकार गरे।

आइजिपी कार्कीले पछिल्लो समय प्रविधि, सामाजिक परिवेश र अपराध गर्ने शैलीमा आएको परिवर्तनले प्रहरीसामु नयाँ चुनौती थपिएको बताए। परम्परागत अनुसन्धान विधिबाट मात्रै आधुनिक अपराध नियन्त्रण गर्न कठिन हुने भन्दै प्रहरीले प्रविधिमैत्री अनुसन्धान र विशिष्टीकृत जनशक्तिमा जोड दिएको उनको भनाइ छ। प्रविधिजन्य तथा आर्थिक अपराध बढ्दै गएपछि त्यस्ता अपराधको अनुसन्धानका लागि विशिष्टीकृत अनुसन्धान इकाइ गठन गरिएको उनले बताए। साथै, अपराधको अन्तर्राष्ट्रिय सञ्जाल नियन्त्रणका लागि इन्टरपोल तथा विभिन्न देशका प्रहरी सङ्गठनसँग आवश्यक समन्वय भइरहेको जानकारी दिए।

प्रहरी सेवालाई पनि क्रमशः प्रविधिमैत्री बनाउँदै लगिएको उनले बताए। नेपाल पुलिस एपमार्फत नागरिकले घरबाटै विभिन्न आवेदन तथा निवेदन दिन र सेवासम्बन्धी जानकारी लिन सक्ने व्यवस्था विस्तार गरिएको उनको भनाइ छ। प्रहरी आमनागरिकसँग सबैभन्दा नजिक रहेर राज्यको प्रतिनिधित्व गर्ने संस्था भएकाले अपराध नियन्त्रण र शान्ति–सुरक्षा कायम गर्न नागरिकको सहयोग अपरिहार्य रहेको कार्कीले बताए। उनले आपराधिक गतिविधिमा संलग्न व्यक्तिबारे प्रहरीलाई सूचना दिएर सहयोग गर्न आमनागरिकलाई आग्रहसमेत गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0