शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–१०, टेक्रास्थित दिपेन्द्र आधारभूत विद्यालयले स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा आइतबार भव्य कार्यक्रमका साथ रजत जयन्ती मनाएको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले गीत, संगीत तथा विभिन्न सांस्कृतिक प्रस्तुतिमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। रजत जयन्तीको अवसरमा विद्यालय परिसरमै निर्माण गरिने रजत जयन्ती स्तम्भको शिलान्यास समेत गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा (रोशन)ले नगरको बजेट सीमित र आवश्यकता धेरै भएकाले सबै क्षेत्रमा एकैपटक आवश्यकताअनुसार काम गर्न नसकिएको बताए। कनकाई नदी पारिको टापुका रूपमा रहेको शिवसताक्षी–१० लाई कनकाई र शिवसताक्षी दुवै क्षेत्रबाट अपेक्षित रूपमा ध्यान नदिइएको गुनासो कार्यक्रमका वक्ताहरूले राखेपछि नगरप्रमुख थोप्राले त्यसतर्फ नगरपालिकाको ध्यानाकर्षण भएको बताए।
नगरप्रमुख थोप्राले नगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य लगानी गर्दै आएको उल्लेख गर्दै केही विद्यालयलाई प्रविधिमैत्री तथा स्मार्ट विद्यालयका रूपमा विकास गर्न बजेट विनियोजन गरिएको बताए। उनले आगामी दिनमा दिपेन्द्र आधारभूत विद्यालयलाई पनि बजेटको व्यवस्था गरी शैक्षिक तथा भौतिक पूर्वाधार सुधारमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा शिवसताक्षी–१० का वडाध्यक्ष हर्कबहादुर सिगुले वडाले विद्यालयको भौतिक सुधारका लागि विभिन्न काम गर्दै आएको बताए। विद्यालयको तत्कालीन प्रमुख समस्याका रूपमा रहेको अव्यवस्थित शौचालय निर्माण तथा व्यवस्थापनका लागि नगरपालिकाको बोर्ड बैठकबाट निर्णय गराई भदौ महिनाको अन्त्यसम्म काम सुरु गर्ने आश्वासन उनले दिए।
कार्यक्रममा शिवसताक्षी–५ का वडाध्यक्ष सिकिन पासवान, वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेलगायतले विद्यालयको २५औँ वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गरेका थिए।
त्यस्तै, बालनिकुञ्ज माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक विष्णुप्रसाद खतिवडा, नेपाल स्काउट शिवसताक्षीका आयुक्त डिगम पराजुली, गैँडे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामध्वज लावती, शिवशक्ति पाञ्चायन मन्दिरका अध्यक्ष नारदमणि रिमाल, संस्थापक जग्गादाता कृष्णप्रसाद पोखरेल, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमारसिंह साँवा लिम्बू, पूर्व अध्यक्ष भाष्कर सिटौला, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष मात्रिकाप्रसाद ढकाललगायतले विद्यालयले २५ वर्षको यात्रा पूरा गरेकोमा शुभकामना दिएका थिए।

कार्यक्रममा वक्ताहरूले शिवसताक्षी नगरपालिकाको टापु क्षेत्रका रूपमा रहेको दिपेन्द्र आधारभूत विद्यालयलाई राज्य तथा स्थानीय तहबाट अपेक्षित रूपमा ध्यान नदिइएको गुनासोसमेत राखेका थिए। विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक वातावरण तथा आवश्यक स्रोत–साधनको विकासमा थप लगानी गर्न उनीहरूले सम्बन्धित निकायसँग आग्रह गरे।
विद्यालयकी निमित्त प्रधानाध्यापक भूमिका अधिकारीले विद्यालय स्थापनादेखि हालसम्म विद्यालयले पार गरेका विभिन्न आरोह–अवरोह, उपलब्धि तथा चुनौती समेटिएको प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थबहादुर थापा ‘सुवास’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षिका बबिता अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन शिक्षिका गोमा कडरियाले गरेकी थिइन्।
विद्यार्थीको सांस्कृतिक प्रस्तुति, शुभकामना मन्तव्य तथा विभिन्न गतिविधिसहित दिपेन्द्र आधारभूत विद्यालयको २५औँ रजत जयन्ती कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको हो।












