झापा । झापाको शिवसताक्षी नेपाली कांग्रेस नगर समितिले कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले राजतन्त्र फर्काउने केवल हल्ला मात्रै भएको बताउनु भयो । यो असम्भव कुरा हो । उहाँले भन्नु भयो यस्तो बेकारको बहसमा समय खर्चिनु व्यर्थ छ ।

उहाँले आवश्यकताको आधारमा संविधान संसोधन हुने र देश अघि बढ्ने बताउनु भयो । ब्यवस्था भनेकै लोकतान्त्रिक ब्यवस्था हो’– नेता सिटौलाले भन्नुभयो–‘लोकतन्त्र देश र जनताको समृद्धिका लागि ल्याइएको हो । जनताले यही सोचेर कठोर संघर्षमा साथ दिएका हुन् ।’
पार्टीका सबै नेता कार्यकर्तालाई आपसी मेलमिलाप र सहकार्यका साथ अघि बढ्न आह्वान गर्नु भएका नेता सिटौलाले एकतामा मात्रै बलियो शक्ति बन्न सकिने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले पार्टीको क्रियाशिल सदस्यता नवीकरण कार्यलाई तीव्रता दिन तहगत समितिलाई आग्रह गर्दै आगामी फागुन मसान्तसम्ममा जिल्लामा बुझाइसक्न आह्वान गर्नुभयो ।

नेपाली कांग्रेस नगर समितिलाई अझ संगठित बनाउने उद्देश्यले आयोजित कार्यक्रममा १०० दिने अभियानको उपलब्धिलाई पुनः ताजगी गरिएको छ। कार्यक्रममा कांग्रेस कार्यकर्तालाई उद्देश्य मूलक तरिकाले संगठित हुन निर्देशन दिइएको थियो भने, अन्तरक्रिया समसामयिक राजनीतिक विषयवस्तुमा केन्द्रित रहेको नगर सभापति बस्नेतले जानकारी दिए ।
कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागो, झापाका उपसभापति केशवराज पाण्डे, महासमिति सदस्य भक्ति सिटौला र मचिन्द्र शेर्मा, महाधिवेशन प्रतिनिधि सन्तोष मेनेङ्बो लगायतले मन्तब्य राख्नुभएको सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो ।
शिवसताक्षी नगर सभापति अशोक बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत रमेश राई र सञ्चालन होम दुलालले गर्नुभएको सूचना तथा प्रचार–प्रसार विभाग संयोजक रश्मिशेखर सुवेदीले जानकारी दिनुभयो ।कार्यक्रममा नेपाली कांग्रेसका ४५० बढीको नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।












