झापा । मिसियो म्युनिखको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिकासँगको समन्वयमा कारितास नेपालद्वारा सञ्चालित ‘सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखनविरुद्धको सबलीकरण परियोजना’ अन्तर्गत सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
शिवसताक्षी नगरपालिका–१ स्थित धरमपुर बजारको न्यू जोफ्री अंग्रेजी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावक, फिर्ती आप्रवासी, सम्भावित आप्रवासी तथा आप्रवासी परिवारका सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको मुख्य उद्देश्य वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनुका साथै वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई स्थानीय स्तरमै पुनःस्थापना गर्न सहयोग पुर्याउनु रहेको आयोजकले जनाएको छ। सहभागीलाई स्वदेशमै स्वरोजगारमूलक कार्यमा लाग्न प्रेरित गर्नुका साथै वैदेशिक रोजगारीमा जानैपर्ने अवस्थामा सीप सिकेर दक्ष जनशक्तिका रूपमा मात्र जान र नेपाल सरकारले तोकेका आवश्यक मापदण्ड पालना गर्न अभिमुखीकरण गरिएको थियो।

कार्यक्रममा वैदेशिक रोजगारीमा जानुअघि अपनाउनुपर्ने सुरक्षा उपाय, वैदेशिक रोजगारीमा रहँदा अपनाउनुपर्ने सावधानी, स्थानीय तहअन्तर्गत रोजगार सेवा केन्द्रबाट प्राप्त हुने सेवाहरू, श्रमसम्बन्धी व्यवस्था, सामाजिक सुरक्षा कोष तथा श्रमिक कल्याणकारी कोषलगायत वैदेशिक रोजगारीका क्रममा आइपर्न सक्ने समस्या समाधानका लागि नेपाल सरकारका सम्बन्धित नियामक निकायबाट प्राप्त हुने सेवाबारे जानकारी दिइएको थियो।
कार्यक्रमको उद्देश्य र विषयवस्तुबारे परियोजनाका सामाजिक परिचालक चिरञ्जीवी लुइटेलले जानकारी दिँदै “स्वदेशमै स्वरोजगारमूलक काममा लागौँ, वैदेशिक रोजगारीमा जानैपरे सीप सिकेर दक्ष जनशक्ति बनी आवश्यक सबै कुरा बुझेर मात्र वैदेशिक रोजगारीमा पाइला अघि सारौँ” भन्ने मूल सन्देशका साथ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।
कार्यक्रममा ६५ जनाको सहभागिता रहेको थियो। न्यू जोफ्री अंग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण कन्काई नगरपालिकाका विवेक सिवाकोटीले गर्नुभएको थियो।












