शिवसताक्षी । रसुवा हुँदै भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको दुःखमा साथ दिन झापाको शिवसताक्षी नगरपालिकाका कर्मचारीहरूले मानवीय राहतस्वरूप आर्थिक सहयोग गर्ने भएका छन्।

बाढीका कारण घरबार, सम्पत्ति र दैनिक जीवनका आधारभूत आवश्यकता गुमाएका परिवारको पीडामा मलम लगाउने उद्देश्यले शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेको अध्यक्षतामा बसेको नगरपालिकाका कर्मचारीहरूको बैठकले आफ्नो तर्फबाट आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।

जसमा नगरपालिकाका अधिकृत तहका कर्मचारीहरूले जनही ५ हजार रुपैयाँ, सहायक चौथो र पाँचौँ तहका कर्मचारीहरूले जनही ४ हजार रुपैयाँ तथा कार्यालय सहयोगी र सवारी चालकहरूले जनही ३ हजार रुपैयाँ सहयोग गर्ने शिवसताक्षी नगरपालिकाका लेखा अधिकृत प्रकाश योङहाङ्गले जानकारी दिनुभयो।

उहाँका अनुसार कर्मचारीहरूबाट संकलन हुने रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी बाढीपीडितको राहत तथा उद्धार कार्यमा प्रयोग हुने गरी उपलब्ध गराइनेछ।

हाल शिवसताक्षी नगरपालिकामा १८२ जना कर्मचारी कार्यरत छन्। कर्मचारीहरूको योगदानबाट करिब ८ लाख रुपैयाँ मानवीय राहत उपलब्ध गराउने लक्ष्य रहेको लेखा अधिकृत योङहाङ्गले बताउनुभयो।

बाढीले कतिपय परिवारको घर बगाएको छ भने कतिपयको रोजगारी, आम्दानीको स्रोत र जीवनभरको कमाइसमेत क्षणभरमै खोसिएको छ। आफन्त गुमाएका परिवार शोकमा छन् भने विस्थापित परिवारहरू सुरक्षित बास, खाना, लत्ताकपडा तथा अन्य आधारभूत आवश्यकताको अभाव झेलिरहेका छन्। यस्तो पीडाको समयमा राज्यसँगै समाजका हरेक तह र तप्काबाट सहयोगको हात अगाडि बढाउनुपर्ने आवश्यकता रहेको कर्मचारीहरूले बताएका छन्।

कर्मचारीहरुको बैठकले बाढीमा परी ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा गहिरो समवेदना व्यक्त गरेको छ ।

‘विपद्को पीडामा हामी सबैको साझा जिम्मेवारी हो’ भन्ने भावनासहित शिवसताक्षीका कर्मचारीहरूले गरेको यो पहलले बाढीपीडितप्रति ऐक्यबद्धता र मानवीय संवेदनाको सन्देश दिएको छ।

राहतको रकम ठूलो वा सानोभन्दा पनि पीडामा परेको मानिसको आँसु पुछ्न संकटको घडीमा कसैले सम्झिएको अनुभूति हुनु महत्वपूर्ण हुने भएकाले कर्मचारीहरूको यो सहयोगले पीडित परिवारलाई तत्कालीन राहतसँगै मानवीय सहाराको अनुभूति दिलाउने अपेक्षा गरिएको छ।

विपद्ले भत्काएका घर तत्काल उठाउन नसकिएला, गुमेको सम्पत्ति तत्काल फर्काउन नसकिएला, तर दुःखमा परेको परिवारको हात समातेर ‘तपाईंहरू एक्लै हुनुहुन्न’ भन्ने भरोसा दिन सकिन्छ। शिवसताक्षीका कर्मचारीहरूको यो मानवीय पहलले त्यही भरोसा र सहानुभूतिको सन्देश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0