शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–६, शिवगञ्जमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा बृहत् श्रीकृष्ण रथयात्रा आयोजना हुने भएको छ। सनातन धर्म संवर्धन संस्थाको आयोजनामा आगामी भदौ २० गते शनिबार रथयात्रा गर्न लागिएको हो।
संस्थाले बिहीबार शिवगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष माधव अधिकारीले भदौ २० गते बिहान १० बजे रथयात्रा सुरु हुने जानकारी दिनुभयो। सनातन धर्म, संस्कृति र संस्कारको प्रवद्र्धन गर्दै भक्तिभाव जागृत गराउने उद्देश्यले रथयात्रा आयोजना गरिएको उहाँले बताउनुभयो ।
रथमा राधाकृष्णको मूर्ति राखेर शिवगञ्जबाट भेलानुनी, कटुवालचोक, जनता चोक, हवल्दारचोक, पाथीभरा मन्दिर, दुर्गा मन्दिर, शिवालय मन्दिरलगायत प्रमुख स्थान हुँदै परिक्रमा गरिने आयोजकले जनाएको छ। रथयात्राका क्रममा भजन–कीर्तन, संस्कृत मन्त्रोच्चारण, पूजाआजा लगायतका धार्मिक कार्यक्रमसमेत सञ्चालन गरिनेछ।

यसैगरी भदौ १९ गते साँझ गंगा आरती, भजन–कीर्तनलगायतका कार्यक्रम आयोजना गरिने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो। रथयात्रासहितका विभिन्न कार्यक्रम सम्पन्न गर्न करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। कार्यक्रमका लागि शिवसताक्षी नगरपालिका, सम्बन्धित वडा कार्यालय तथा विभिन्न धार्मिक व्यक्तित्वहरूको सहयोग रहने आयोजकले जनाएको छ।
रथयात्रा सफल बनाउन वडाले ५० हजार सहयोग गर्ने शिवसताक्षी–६ का वडाध्यक्ष मनोज खुलालले बताउनुभयो। शिवगञ्ज बजारमा यस प्रकारको धार्मिक कार्यक्रम आयोजना हुनु गौरवको विषय भएको भन्दै उहाँले धार्मिक व्यक्तित्व, स्थानीयवासी तथा सम्पूर्ण नगरबासीलाई रथयात्रामा सहभागी हुन आह्वान गर्नुभयो।
त्यस्तै, शिवसताक्षी–५ का वडाध्यक्ष सिकिन पासवानले धार्मिक गतिविधिमार्फत पनि स्थानीय क्षेत्रको विकास र पहिचान विस्तार गर्न सकिने बताउनुभयो। उहाँले रथयात्रालाई कुनै धर्म वा जाति विशेषमा सीमित नराखी झापा जिल्लाकै उत्कृष्ट धार्मिक रथयात्राका रूपमा स्थापित गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो।
आयोजकका अनुसार रथयात्राको तयारी भव्य र शालीन ढंगले सम्पन्न गर्न स्थानीयवासी, विभिन्न संघसंस्था तथा युवा समूहसँग सहकार्य भइरहेको छ। स्थानीयस्तरमा यस प्रकारको धार्मिक यात्रा तेस्रो पटक आयोजना हुन लागेको जनाउँदै संस्थाले सबै नागरिकलाई सहभागिताका लागि आग्रह गरेको छ।
पत्रकार सम्मेलनमा वडा सदस्य गोमा रिजालले सबै भाषा, धर्म र संस्कृतिको सम्मान गर्दै आम नागरिकलाई रथयात्रामा सहभागी हुन आग्रह गर्नुभयो। रथयात्रा सनातन धर्मको मूल मर्मअनुसार श्रद्धा, सेवा र समर्पण भावका साथ सम्पन्न गरिने आयोजकले जनाएको छ।












