भद्रपुर । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा दीर्घकालीन पुनःस्थापनाका लागि झापाको भद्रपुर नगरपालिकाले ११ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार रसुवा, धादिङ, नुवाकोटलगायत जिल्लामा बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपदमा परेका नागरिकको सहयोगका लागि रकम उपलब्ध गराउने निर्णय गरिएको हो।

नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ जम्मा गरिने नगर प्रमुख गणेश पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नगरपालिकाले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता नागरिकको शीघ्र खोजी तथा उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह, सामाजिक संघ–संस्था, निजी क्षेत्र तथा आम नागरिकलाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न नगरपालिकाले आह्वानसमेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0