सिन्धुपाल्चोक । चीनसँगको तातोपानी नाकाबाट हुने सामान आयात फेरि अस्थायी रूपमा रोकिएको छ। चिनियाँ पक्षले दिएको सूचनाका आधारमा भदौ दोस्रो साताबाट सञ्चालनमा आएको कार्गो आवागमन पुनः रोकिएको हो।

नेपालतर्फको सडक साउन १ गतेदेखि बिग्रिएपछि नाका सामान ढुवानीका लागि प्रभावित हुँदै आएको थियो। सडक विभागको टोलीले मर्मत गरेपछि भदौ १२ गते आठ वटा कन्टेनर नेपाल भित्रिएका थिए। त्यसपछि भने थप कन्टेनर नेपाल आएका छैनन्।

तातोपानी भन्सार कार्यालयका प्रमुख अधिकृत दीपेन्द्रप्रकाश गिरीका अनुसार चिनियाँ पक्षले नाका कहिले खुल्ने भन्ने निश्चित मिति दिएको छैन। नाका पुनः सञ्चालन हुनेबित्तिकै जानकारी गराउने बताइएको छ।

नेपाली अधिकारीहरूले नेपालतर्फको सडकको अवस्था र ठाउँ–ठाउँमा गएको पहिरोका कारण चिनियाँ पक्षलाई सीमामा काम गर्न असहज भएको हुनसक्ने अनुमान गरेका छन्।

यसअघि रसुवागढी नाका बाढीका कारण प्रभावित भएपछि व्यवसायीले तातोपानीमार्फत केरुङमा रोकिएका सामान ल्याउने प्रयास गरेका थिए। तर, तातोपानीबाट समेत कार्गो रोकिएपछि चीनसँगको स्थल व्यापारका लागि तत्काल कोरला नाकामा निर्भर हुनुपर्ने अवस्था देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0