काठमाडौं । देशमा आएको प्राकृतिक विपत्तिबाट प्रभावित बाढीपीडित तथा पीडित परिवारहरूको राहत र सहयोगका लागि नेपाल तथा विदेशमा रहेका नेपाली शेफहरू एकजुट भएका छन्। विभिन्न देशमा रहेका नेपाली शेफ तथा देशगत कार्यसमितिहरूको पहलमा राहत तथा सहयोग रकम संकलन गरेको छ।
नेपाल शेफ सोसाइटीका अनुसार नेपाल तथा विदेशमा रहेका नेपाली भान्से र शेफहरूबाट हालसम्म करिब ४ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन भएको छ। संकलित रकममध्ये नेपाल शेफ सोसाइटी केन्द्र तथा विभिन्न देशगत कार्यसमितिको समन्वयमा करिब ४ लाख रुपैयाँ बराबरको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको नेपाल शेफ सोसाइटीका केन्द्रीय महासचिव दीपक कार्कीले जानकारी दिनुभयो।
महासचिव कार्कीका अनुसार विदेशमा रहेका नेपाली शेफहरूले आफ्नो व्यस्तता र व्यक्तिगत जिम्मेवारीका बीच पनि मातृभूमिमा परेको विपत्तिलाई आफ्नो दुःखका रूपमा लिँदै स्वस्फूर्त रूपमा सहयोग अभियानमा सहभागिता जनाइरहेका छन्। विभिन्न देशबाट सहयोग संकलन हुने क्रम अझै जारी रहेको उहाँले बताउनुभयो।
यसै क्रममा नेपाली शेफ सोसाइटी, माल्टाको फुटबल टोलीले पनि खेलकुदसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बाढीपीडितका लागि रु. १४,४२५ सहयोग हस्तान्तरण गरेको छ। खेलकुदको माध्यमबाट एकता, भाइचारा र सामाजिक सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्यसहित टोलीले मातृभूमिमा परेको विपत्तिमा सहयोग गरेको हो।
नेपाल शेफ सोसाइटीले विपत्तिको समयमा देशभित्र तथा विदेशमा रहेका सम्पूर्ण नेपाली शेफहरूलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेको छ। राहत तथा सहयोग संकलन अभियान अझै जारी रहेको जनाउँदै सोसाइटीले आगामी दिनमा पनि मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
नेपाल शेफ सोसाइटीका महासचिव दीपक कार्कीले भन्नुभयो, “हामी जहाँ भए पनि मातृभूमिको दुःखमा साथ दिनु हाम्रो सामाजिक दायित्व हो। शेफको पहिचान खाना पकाउने पेशासँग मात्र सीमित छैन, आवश्यक परेको समयमा मानव सेवामा हातेमालो गर्नु पनि हाम्रो जिम्मेवारी हो।”
विदेशमा रहेका नेपाली शेफहरूबाट समेत मातृभूमिको विपत्तिमा निरन्तर सहयोग जुट्नुले नेपाली समुदायबीचको एकता, सामाजिक उत्तरदायित्व र मानवीय भावनालाई थप मजबुत बनाएको नेपाल शेफ सोसाइटीले जनाएको छ।












