बिर्तामोड । झापाको बिर्तामोड ३ बिर्ताबजारमा रहेको अनारमनी पब्लिक क्याम्पसमा आज शुक्रबार विविध रचनात्मक कार्यक्रमका बीच १९औं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा. लक्ष्मीप्रसाद मैनालीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यमा आयोजित वार्षिक साधारण सभामा क्याम्पसका संस्थापक प्रमुख मोहन सिवाकोटी र निवर्तमान अध्यक्ष राजकुमार पोखरेललाई सम्मान गरियो ।
सो अवसरमा पब्लिक क्याम्पसलाई स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने बिर्तामोड ३ र ६ नम्बर वडाध्यक्षलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
१९औं वार्षिक साधारण सभा, सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रमका संयोजक तथा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष कृष्ण बिमलीले शाब्दिक स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चालक समितिका सदस्य शुष्मा पौडेलले गर्नुभएको थियो ।
वार्षिक साधारण सभामा अध्यक्ष डा. मैनालीले सञ्चालक समितिको र क्याम्पस प्रमुख योगेन्द्रप्रसाद भट्टराईले वित्तीय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा अध्यक्ष डा. मैनालीले प्राध्यापक तथा कर्मचारीहरुको तलव १० प्रतिशतले वृद्धि गर्ने, ५ वर्षभन्दा बढी सेवा गरेका प्राध्यापक तथा कर्मचारीहरुको विदाईको समयमा रित्तोहात नहोस् भन्ने हेतुले उपदान कोष स्थापना गर्ने, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई सिएसआर अन्तरगत क्याम्पसमा अध्ययनरत विपन्न विद्यार्थीका लागि छात्रवृत्ति माग गर्ने लगायतका प्रस्तावहरु प्रस्तुत गर्नुभयो ।
सोही कार्यक्रममा चौथोवर्षको गत वार्षिक परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने एक जना विद्यार्थी पुरस्कृत भएका छन् भने ५३ जना विद्यार्थीलाई छात्रवृत्तिका संस्थापकहरुकै हातबाट पूर्ण वा आंशिक छात्रवृत्ति प्रदान गरिएको थियो ।












