शत कुण्डीय कोटिहोमदेखि १८ महापुराणसम्म, देश–विदेशका धर्मगुरु जुट्दै
शिवसताक्षी । झापाको शिवसताक्षीस्थित प्रशिद्ध तीर्थ स्थल सताक्षीधाममा रहेको गोलोक गोवर्धन गौशाला परिसर आगामी माघमा वैदिक मन्त्र, वेद–पुराणको ज्ञान, भजन–कीर्तन र आध्यात्मिक साधनाको केन्द्र बन्ने भएको छ । यहाँ १९ दिनसम्म ‘श्रीशताक्षी गोरक्षा महोत्सव–२०८३’ आयोजना हुने भएको छ ।
आगामी माघ ९ देखि २७ गतेसम्म सञ्चालन हुने महोत्सवमा ऐतिहासिक शत कुण्डीय श्रीगायत्री कोटिहोम, अष्टादश (१८) महापुराण तथा धनधान्याञ्चल विराट ज्ञान महायज्ञ आयोजना गरिने गोलोक गोवर्धन गौशालाले जनाएको छ ।
महोत्सवमा गायत्री मन्त्रद्वारा एक करोड आहुति अर्पण गर्ने लक्ष्य राखिएको छ । यज्ञसँगै १८ महापुराणको वाचन, चारै वेदको पाठ, धार्मिक प्रवचन, संगीतमय भजन–कीर्तन तथा विभिन्न आध्यात्मिक अनुष्ठान सञ्चालन हुनेछन् ।
गोलोक गोवर्धन गौशालाको ११औँ स्थापना दिवससँग जोडेर आयोजना गर्न लागिएको महोत्सवमा नेपालसहित भारत, अमेरिका, अफ्रिका, भुटानलगायत विभिन्न देशका धर्मगुरु, सन्त, महात्मा, पण्डित, आचार्य तथा विदुषीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
महोत्सवमा तुलसी वाटिका आश्रम श्रीधाम वृन्दावनका पीठाधीश स्वामी श्री भागवत शरण देवाचार्यजी महाराज, अन्तर्राष्ट्रिय कथावाचक गोविन्द घिमिरे, डा. स्वामी यतिराजाचार्यजी, स्वामी श्री भागवताचार्यजी महाराज, मुक्तिनाथ बाबा, स्वामी निर्विशेषानन्दजी महाराज तथा श्रीकृष्ण शरण देवाचार्यजी महाराज लगायत धर्मगुरुको सहभागिता रहनेछ ।
त्यसैगरी महामण्डलेश्वर स्वामी श्री स्वरूपानन्द सरस्वतीजी महाराज गुजरात, स्वामी श्री ब्रह्मानन्द सरस्वतीजी महाराज अफ्रिका, निम्बार्क कुलभूषण स्वामी श्री भागवत शरणजी महाराज अमेरिका, सदा फलाहारी स्वामी विवेकानन्द सरस्वतीजी भुटान, जगद्गुरु आचार्य श्री कृष्णमणिजी महाराज जामनगर, स्वामी आनन्द सागरजी महाराज वृन्दावन, अन्तर्राष्ट्रिय कथावाचक आचार्य श्री हरिमोहन गोस्वामीजी महाराज तथा स्वामी विष्णुवल्लभानन्दजी महाराज हरिद्वार लगायत सयौँ धर्मगुरुको उपस्थिति रहने आयोजकको भनाइ छ ।
महोत्सवमा महिला तथा बाल विदुषीहरूको सहभागितालाई समेत विशेष महत्व दिइएको छ । अयोध्याधामकी बाल विदुषी तथा कथावाचिका अनुराधा पाण्डे, अमेरिकाकी सीता सहचरी, विदुषी हरिप्रिया शर्मा, हरिप्रिया अच्युत, विराटनगरकी गरिमा उपाध्याय, भारतकी शिखा कश्यप, सिक्किमकी अमृता गजुरेल तथा झापाकी वृन्दावनी दासी लगायतको सहभागिता रहनेछ ।

महोत्सवमा श्री शंकराचार्य पीठ वेद–वेदाङ्ग संस्कृत पाठशाला, साधुटार झापाका पं. लक्ष्मीप्रसाद खतिवडा तथा काठमाडौंका डा. आचार्य प्रसाद गर्तौला यज्ञाचार्यका रूपमा रहने जनाइएको छ ।
गोलोक गोवर्धन गौशालाका संरक्षक एवं अध्यक्ष आचार्य श्री नन्दकिशोरजी महाराजका अनुसार महोत्सव धार्मिक अनुष्ठानमा मात्र सीमित नभई गोरक्षा, संस्कृत शिक्षा, सनातन संस्कार र आध्यात्मिक चेतना विस्तारको अभियानसमेत हो ।
उनका अनुसार अघिल्लो वर्ष नै महोत्सवको तयारी पूरा भए पनि जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण स्थानीय प्रशासनको आग्रहमा कार्यक्रम स्थगित गरिएको थियो । स्थगित कार्यक्रमलाई थप व्यवस्थित र व्यापक स्वरूप दिँदै यस वर्ष माघ महिनामा आयोजना गर्न लागिएको उनले बताए ।
महोत्सवमा विभिन्न जातजाति, भाषा, धर्म र समुदायका धार्मिक तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ । आयोजकले दैनिक हजारौँ श्रद्धालुको सहभागिता हुने अपेक्षा गरेको छ ।
गोलोक गोवर्धन गौशाला गोरक्षा अभियानसँगै सामाजिक तथा शैक्षिक क्षेत्रमा समेत सक्रिय रहँदै आएको छ । गौशालाका अनुसार पछिल्लो एक दशकमा विपद् तथा असहाय अवस्थामा रहेका गोवंशको उद्धार, संरक्षण र संवर्द्धन गर्दै दुई हजारभन्दा बढी गोवंश गाउँ–समाजमा वितरण गरिएको छ ।
त्यस्तै, करिब एक हजार गाई अट्ने गोठ निर्माण, वृद्धवृद्धाको सेवा तथा संरक्षण, संस्कृत शिक्षा अध्ययन–अध्यापनका लागि गुरुकुल स्थापना तथा सनातन धर्म र संस्कृतिको संरक्षणमा समेत काम भइरहेको जनाइएको छ ।
श्रीशताक्षीधामको पूर्वाधार विकासमा समेत गौशालाले योगदान दिँदै आएको छ । मठ–मन्दिर, विद्यालय, सत्सङ्ग भवन, भोजनालय, अतिथि भवन तथा माता–पिता सेवा आश्रमलगायत संरचना निर्माणमा गौशालाको भूमिका रहेको आयोजकले जनाएको छ ।
गोलोक गोवर्धन गौशालाले विगत ११ वर्षदेखि बाला चतुर्दशी र विवाहपञ्चमीको अवसर पारेर श्रीशताक्षी गोरक्षा महोत्सव आयोजना गर्दै आएको थियो । तर, यस वर्षदेखि महोत्सवको वार्षिक समयतालिका परिवर्तन गरी माघ महिनामा आयोजना गर्ने निर्णय गरिएको हो ।
शिवसताक्षीधाम पूर्वी नेपालको महत्वपूर्ण धार्मिक गन्तव्यमध्ये एक भएकाले १९ दिनसम्म चल्ने महोत्सवले धार्मिक पर्यटनसँगै स्थानीय आर्थिक गतिविधिमा समेत योगदान पुर्याउने आयोजकको अपेक्षा छ ।
आचार्य नन्दकिशोरजी महाराजले भौतिक विकाससँगै प्रकृति, पर्यावरण, जीवजन्तु र वनस्पतिको संरक्षणका लागि आध्यात्मिक चेतना आवश्यक रहेको बताए ।
उनका अनुसार शत कुण्डीय गायत्री कोटिहोम र अष्टादश महापुराणले धार्मिक ज्ञानको प्रसारसँगै सनातन परम्पराको पुस्तान्तरण, गोरक्षाप्रतिको चेतना तथा विभिन्न समुदायबीच सद्भाव र सांस्कृतिक आदानप्रदान बढाउने उद्देश्य राखेको छ ।












