शिवसताक्षी । झापाको शिवसताक्षीमा झापा क्षेत्र नं. ४ का मावि तहका विद्यार्थीहरु बीच हिज्जे÷ निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ ।

शिवसताक्षी स्थित दूधे माविमा नेपाली कांग्रेस कोशी प्रदेशको श्रमिक तथा ट्रेड युनियन विभागले आयोजना र शिवसताक्षी नगर समितिको संयोजनमा “नेपालको कृषि मजदुरको अवस्था” विषयक निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा शिवसताक्षीको भगवती मावि व्याङडाँडा, कनकाईको कनकाई मावि सुरुङ्गा र कनकाईकै सिंहदेवी मावि प्रथम, द्वितीय र तृतीय भए । विद्यार्थीहरूले ५०० शब्दको निबन्ध लेखेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई कोशी प्रदेशको विराटनगरमा हुने कार्यक्रममा पुरस्कार वितरण गरिने बताइएको छ ।

कार्यक्रममा झापा निर्वाचन क्षेत्र नम्बर ४ का २५ वटा माध्यमिक विद्यालयका ३४ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूलाई सिर्जनात्मक लेखनमा प्रेरित गर्नुका साथै उनीहरूको क्षमताको मूल्यांकन गर्ने रहेको आयोजकले जनाएको छ । साथै, नेपाली भाषा, साहित्य र सृजनात्मक लेखनमा विद्यार्थीहरूको चासो अभिवृद्धि गराउनु, असल जनशक्ति उत्पादनमा टेवा पुर्याउनु र कृषि मजदुरको अवस्थाबारे जानकारी दिनु कार्यक्रमको मुख्य लक्ष्य रहेको आयोजक नेपाली कांग्रेस कोशी प्रदेशको श्रमिक तथा ट्रेड युनियन विभागका सभापति उत्तम चौलागाईँले बताए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई कृषि तथा भेटेरिनरी अध्ययनमा ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने भएको छ । छनौटमा परेका विद्यार्थीले आफूले इच्छाएको विषयमा अध्ययन गरे २५ प्रतिशतसम्म छात्रवृत्ति पाउने छन् ।

एसईईको परीक्षापछि अध्ययन गर्ने विद्यार्थीले यो सुविधा नेपाली कांग्रेस कोशी प्रदेशको श्रमिक तथा ट्रेड युनियन विभागबाट पाउने छन् । साथै, प्रतियोगितामा सहभागी भएका सबै विद्यार्थीलाई शैक्षिक सामग्रीहरू पुरस्कारस्वरूप वितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस कोशी प्रदेशका सभापति तथा प्रदेश सभा संसदीय दलका नेता उद्धव थापा रहेका थिए भने कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस महासमिति सदस्य तथा श्रमिक तथा ट्रेड युनियन विभाग कोशी प्रदेशका सभापति चम्लागाईंले गरेका थिए । सभापति थापाले पठन संस्कृतिलाई विकास गर्नका लागि नेपाली कांग्रेसले विभिन्न योजना ल्याएको बताए । ‘यो पनि एउटा महत्वपूर्ण कार्यक्रम हो । यो कार्यक्रमले पार्टी, विद्यार्थी र अभिभावकमा सकारात्मक सन्देश जानेछ,’ उनले बताए ।

कार्यक्रमपछि अभिभावक र विद्यार्थीहरूले यस्ता सिर्जनात्मक प्रतियोगिताहरूलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरेका छन । आयोजकहरूले विद्यार्थीहरूमा कृषि र श्रमिक वर्गप्रतिको बुझाइ बढाउन आगामी दिनमा थप कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन ।यसअघि कनकाई माविमा हिज्जे लेखन प्रतियोगिता भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस श्रमिक तथा ट्रेड युनियन विभागको केन्द्रिय सदस्य उर्मिला ढकाल, शिवसताक्षी नगर सभापति अशोक बस्नेत लगायतले शुभकामना राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0